पेजथ्री पिपल्स च्वाइस अवार्ड ११४६ सम्पन्न, ‘लाखे आजु’ उत्कृष्ट चलचित्र घोषित
काठमाडौँ, जेठ ३१ । नेपालभाषाका चलचित्र, संगीत तथा म्युजिक भिडियो क्षेत्रका कलाकार तथा स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित पेजथ्री पिपल्स च्वाइस अवार्ड ११४६ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम किर्तिपुरस्थित सिनेप्लेक्समा शनिबार आयोजित गरिएको थियो।
अवार्ड समारोहमा नेपालभाषाका चलचित्र, गीत–संगीत तथा म्युजिक भिडियो क्षेत्रका उत्कृष्ट कलाकार, गायक–गायिका, निर्देशक, प्राविधिक तथा सर्जकहरूलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो।
संगीततर्फ ‘मथुरा महर्जन’ उत्कृष्ट पुरुष गायक तथा ‘कविता जोशी’ उत्कृष्ट महिला गायिका घोषित भए। उदीयमान गायकतर्फ ‘रोजमान महर्जन’ र उदीयमान गायिकातर्फ ‘भिंतुना जोशी’ पुरस्कृत भए। उत्कृष्ट गीतको अवार्ड ‘सः जिगु’ (सुरेन्द्र श्रेष्ठ) ले प्राप्त गर्दा उत्कृष्ट गीतकारको अवार्ड ‘नुगःया मिखां’ गीतका सानुबाबु महर्जनलाई प्रदान गरियो।
चलचित्रतर्फ ‘झीगु कर्म’ चलचित्रका सुरज ब्यञ्जनकार उत्कृष्ट अभिनेता तथा ‘लाखे आजु’ चलचित्रकी आशिष्मा नकःमि उत्कृष्ट अभिनेत्री घोषित भइन्। उत्कृष्ट निर्देशकको अवार्ड ‘इन्दिरा धिमें मैंचा’ का सुरेन्द्र तुलाधरले प्राप्त गरे भने उत्कृष्ट चलचित्रको अवार्ड ‘लाखे आजु’ लाई प्रदान गरियो।
त्यस्तै, म्युजिक भिडियोतर्फ ‘चिकुलाया तःखाः’ का सुदित श्रेष्ठ उत्कृष्ट पुरुष मोडल तथा ‘ङेंङापा झ्यःया दरवार’ की रोजिना सुवाल उत्कृष्ट महिला मोडल घोषित भए। उत्कृष्ट निर्देशक म्युजिक भिडियोको अवार्ड ‘नक्कलिम्ह मय्जु’ का रामकृष्ण खड्गीले प्राप्त गरे भने उत्कृष्ट म्युजिक भिडियोको अवार्ड ‘येँया पुन्हि’ ले जित्यो।
नेपालभाषाको कला, संस्कृति र मनोरञ्जन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको अवार्ड समारोहमा कलाकार, संगीतकर्मी, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले नेपालभाषा मनोरञ्जन क्षेत्रको विकास, प्रवर्द्धन तथा सर्जकहरूको योगदानको सम्मानमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।