फ्रान्सका राजदूत पुइग–इञ्जासँग कार्यवाहक प्रमुख सुनिता डंगोलको शिष्टाचार भेट : फिल्म फेस्टिभलमा सहभागी हुन निमन्त्रणा
काठमाडौँ फिल्म फेस्टिभल
काठमाडौँ, कात्तिक ११। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वा पुइग–इञ्जालाई काठमाडौँ फिल्म फेस्टिभलमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ ।
शिष्टाचार भेटका लागि आज कार्यवाहक प्रमुख डंगोलको कार्यकक्षमा पुग्नुभएका राजदूत पुइग–इञ्जासँगको भेटमा चलचित्र क्षेत्रको विकास, सांस्कृतिक प्रवर्द्धन तथा नेपाल–फ्रान्सबीच सहकार्यका सम्भावना बारे छलफल भएको थियो ।
भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदाको अनुभव सुनाउँदै काठमाडौँ फिल्म फेस्टिभललाई प्रभावकारी बनाउन सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आफू उक्त फेस्टिभलमा सहभागी भएको बताउनुभयो ।
उहाँले चलचित्रलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै रचनात्मक उद्योगको विकास गर्ने महानगरपालिकाको लक्ष्य रहेको उल्लेख गर्नुभयो। “स्थानीय अर्थतन्त्रलाई चलचित्रमार्फत रचनात्मक उद्योगमा जोड्ने लक्ष्य हो ।” उहाँले भन्नुभयो, “ठूलो पर्दामा पुग्नुअघि चलचित्र निर्माताले अभ्यास गर्ने मञ्च निर्माण गर्नु र कोठामा बसेका दर्शकलाई चोकमा तथा चोकसम्म आएका दर्शकलाई हलसम्म लैजान फेस्टिभलले योगदान गर्नेछ।”
राजदूत पुइग–इञ्जाले चलचित्रका विभिन्न आयाममध्ये सांस्कृतिक पक्षको प्रवर्द्धनमा यसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको फिल्म फेस्टिभलप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो देखिनु सकारात्मक पक्ष भएको उहाँको भनाइ थियो।
भेटमा चलचित्र उद्योगको विकासका लागि समावेशिता, चलचित्र संस्कार, आपसी सहकार्य र समन्वय तथा कूटनीतिक सम्बन्धका विषयमा छलफल भएको थियो। साथै, नेपाली र फ्रान्सेली चलचित्र उद्योगबीच ज्ञान, सीप, दक्षता तथा अनुभव आदानप्रदान गर्ने सम्भावनाबारे पनि कुराकानी भएको थियो।
भेटमा फ्रान्सेली दूतावासका राजनीतिक सल्लाहकार दिपेश बिडारी, काठमाडौँ महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौतम तथा कार्यवाहक प्रमुखको सचिवालयका अधिकृत सौरभ गौतमलगायत अधिकारी सहभागी हुनुहुन्थ्यो ।

