नेप्से परिसूचकमा ५ अङ्कको गिरावट, कारोबार रकम ३ अर्ब ४१ करोडमा सीमित

काठमाडौँ, ४ असार । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेको बजार यस दिन भने ५.०६ अङ्कले घटेर २,७००.४७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ।

यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.७७ अङ्क, फ्लोट इण्डेक्स ०.३३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अङ्कले घटेका छन्। बुधबार ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बिहीबार ३४७ कम्पनीका ४१ हजार १०४ पटकको कारोबारमा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँ बराबरको ७७ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

बिहीबारको कारोबारमा दुईवटा कम्पनी अपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे १२ प्रतिशत र बुङ्गल हाइड्रोपावरको मूल्य साढे ८ प्रतिशतले बढेको छ। यस दिन मूल्य घट्ने कम्पनीहरूको गिरावट दर भने ६ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढी र सीईडीबी होल्डिङ्सको १४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, वित्त, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *