धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त
काठमाडौँ, ५ असार । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको बोर्डको अध्यक्ष पदमा डा. भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले धितोपत्र बजारको नियामक निकायमा डा. भट्टलाई जिम्मेवारी दिइएको बताए ।
मन्त्रिपरिषद् बैठकले सङ्कटग्रस्त बन्दै गएको सहकारी क्षेत्रको सुधार र प्रभावकारी नियमनका लागि महत्वपूर्ण कदम चालेको छ । बैठकले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
विशेष गरी बचत तथा ऋण सहकारीहरूको प्रभावकारी नियमन र सुपरीवेक्षणका लागि सरकारले छुट्टै विधेयक ल्याउने भएको छ । यसका लागि ‘बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) विधेयक’ तर्जुमा गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।
बैठकले प्रशासनिक र कानुनी सुधारका लागि विभिन्न महत्वपूर्ण विधेयकहरू सङ्घीय संसद्मा पेस गर्ने निर्णय समेत गरेको छ।