कतारको ग्यास प्रशोधन कारखानामा विस्फोट: १८ जना बेपत्ता, ५४ घाइते

एजेन्सी, ८ असार । कतारको रास लाफान औद्योगिक नगरस्थित एक ग्यास प्रशोधन कारखानामा आइतबार राति भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्।

राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा अवस्थित तथा कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख केन्द्रका रूपमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारण सो दुर्घटना भएको हो।

कतारको आन्तरिक मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि घटनास्थलमा विशेष आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ। विस्फोटलगत्तै मन्त्रालयले जारी गरेको अर्को सूचनामा सार्वजनिक सुरक्षामा गम्भीर असर पार्ने खालको कुनै ग्यास चुहावट वा अन्य विषाक्त जोखिम नदेखिएको स्पष्ट पारिएको छ।

अधिकारीहरूका अनुसार सो क्षेत्रमा रहेको बरजान ग्यास प्रशोधन केन्द्रलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेका बेला यो विस्फोट भएको हो। रास लाफान औद्योगिक क्षेत्र हालैको क्षेत्रीय तनावका क्रममा इरानी सैन्य निशानामा परेपछि केही हप्ताका लागि बन्द गरिएको थियो।