दक्षिण कोरियाका पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्ष जेल सजाय
एजेन्सी, ८ असार । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद ‘मार्सल ल’ (सैन्य संकटकाल) घोषणासँग सम्बन्धित विद्रोहको मुद्दामा त्यहाँका पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्षको जेल सजाय सुनाइएको छ। सियोल केन्द्रीय जिल्ला अदालतले सोमबार पार्कलाई सैनिक विद्रोहमा मतियार बनेको र आफ्नो अधिकार दुरुपयोग गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो।
अभियोजन पक्षका अनुसार सन् २०२४ को डिसेम्बरमा मार्सल ल लागू भएको प्रारम्भिक समयमा तत्कालीन कानूनमन्त्री पार्कले न्याय मन्त्रालयका अधिकारीहरूको आकस्मिक बैठक डाकेर सरकारविरोधी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन कारागारहरूको क्षमता जाँच्न निर्देशन दिनुभएको थियो। अभियोजकहरूले उहाँका लागि २० वर्षको सजाय माग गरे पनि अदालतले कानुनी शासनमाथि गम्भीर प्रहार गरेको र कसुरप्रति कुनै पश्चात्ताप नदेखाएको भन्दै मागभन्दा कडा २५ वर्षको सजाय तोकेको हो।
पूर्वराष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा घोषणा गर्नुभएको मार्सल ल संसद् सदस्यहरूको आपत्कालीन बैठकले खारेज गरेपछि केवल छ घण्टा मात्र कायम रहन सकेको थियो। यस ऐतिहासिक राजनीतिक सङ्कटपछि दक्षिण कोरिया ठूलो अस्थिरतामा फसेको थियो।
पूर्वराष्ट्रपति युन हाल हिरासतमा हुनुहुन्छ र उहाँले आफूविरुद्धको आजीवन कारावासको सजायविरुद्ध अपिल गरिरहनुभएको छ। यसै महिनाको सुरुमा उत्तर कोरियातर्फ ड्रोन पठाई राष्ट्रिय सङ्कट निम्त्याउन खोजेको अर्को मुद्दामा उहाँलाई थप ३० वर्षको जेल सजाय सुनाइसकिएको छ।
युन प्रशासनका अन्य कतिपय उच्च अधिकारीहरू पनि हाल कारागारमा सजाय भुक्तान गरिरहेका छन्। पूर्वप्रधानमन्त्री हान डक–सुलाई १५ वर्ष, पूर्वगृहमन्त्री ली साङ–मिनलाई नौ वर्ष र पूर्वरक्षामन्त्रीलाई सैनिक सूचना चुहावट गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ।
यसैगरी, पूर्वराष्ट्रपति युनकी पत्नी किम केओन ही पनि सेयर बजार हेरफेर तथा घुसखोरीसम्बन्धी छुट्टै मुद्दामा चार वर्षको जेल सजाय भोगिरहनुभएको छ। पछिल्ला कडा फैसलाहरूले दक्षिण कोरियामा मार्सल ल प्रकरणमा संलग्न उच्च अधिकारीहरूमाथिको कानुनी कारबाही थप कडा बन्दै गएको सङ्केत गरेका छन्।