पोखरा बसपार्क निर्माणमा तदारुकता : व्यापारिक संरचना हटाइयो, सुकुम्वासी बस्ती व्यवस्थापनको प्रक्रियामा

काठमाडौँ, असार ९ । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेका सबै व्यापारिक संरचनाहरू हटाएको छ। लामो समयदेखि योजनामा सीमित रहेको सुविधासम्पन्न बसपार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन महानगरले विसं २०३० मा अधिग्रहण गरिएको जग्गामा रहेका भौतिक संरचनामा डोजर चलाएको हो।

महानगरले बसपार्कभित्र रहेको बास्तोला कम्प्लेक्स र उत्तरतर्फको पेट्रोलपम्प लाइनमा रहेका सटर तथा कबलहरू पूर्ण रूपमा हटाएर ‘साइट क्लियर’ गर्ने काम सम्पन्न गरेको छ। जग्गा अधिग्रहण भएको आधा शताब्दी (५० वर्ष) पछि मात्र उक्त क्षेत्रमा सरसफाइ र जमिन सम्याउने कार्य सुरु गरिएको हो।

व्यापारिक संरचनाहरू हटाइए तापनि बसपार्कको मुख्य चुनौतीको रूपमा रहेको सुकुम्वासी बस्ती भने अझै यथावत छ। महानगरको तथ्याङ्कअनुसार बसपार्कभित्रका तीनवटा बस्तीमा ५७२ घरधुरीले जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका छन्। ती बस्तीहरूलाई तत्काल नभई उचित व्यवस्थापन र विकल्प सुनिश्चित गरेपछि मात्र स्थानान्तरण गरिने महानगरले स्पष्ट पारेको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुकुम्वासीहरूको विवरण छानबिन र प्रमाणीकरणको कार्य भइरहेको जानकारी दिनुभयो। “हामी सुकुम्वासी बस्तीका साथीहरूको डकुमेन्ट भेरिफिकेसन गरिरहेका छौँ,” प्रमुख आचार्यले भन्नुभयो, “कतिपयले झुट्टा विवरण दिएको समेत पाइएकाले त्यस्ता व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। विवरण प्रमाणित हुनेबित्तिकै उहाँहरूलाई अन्यत्र स्थानान्तरण गरिनेछ।” उहाँले केही तत्वले बस्तीभित्र प्रवेश गरी भ्रम फैलाउन खोजेको भन्दै वास्तविकता नबुझी भ्रममा नपर्न समेत आग्रह गर्नुभयो।

विगतमा पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना र घडेरी वितरण गर्ने विवादास्पद निर्णय गरेको थियो। उक्त विषयमा थप छानबिन गर्न महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा गठन गरेको न्यायिक समितिको प्रतिवेदन भने आउन बाँकी छ।

यता, सुकुम्वासी सरोकार समितिले भने महानगरले उचित विकल्प दिएमा आफूहरू बसपार्क निर्माणमा बाधक नबन्ने प्रतिबद्धता जनाएको छ। समितिका अध्यक्ष प्रेम गुरुङले आफूहरू विकासको विरोधी नभएको उल्लेख गर्दै महानगरले बस्ने निश्चित ठाउँ तोकिदिएमा तत्कालै बस्ती छाड्न तयार रहेको बताउनुभयो।

यससँगै दशकौँदेखि अलपत्र रहेको पोखराको अन्तरप्रादेशिक बसपार्क निर्माण कार्यले नयाँ गति लिने अपेक्षा गरिएको छ।