काठमाडौँ महानगरद्वारा कक्षा ४ र ५ का शिक्षकलाई विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी तालिम
काठमाडौँ, असार ९ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकहरूका लागि ‘विद्यार्थी मूल्याङ्कन र नतिजा अभिलेखन’ सम्बन्धी दुई दिने तालिम सुरु गरेको छ। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजनाको बुँदा नं. ८९ कार्यान्वयन गर्ने क्रममा महानगरको शिक्षा विभागले यो क्षमता विकास कार्यक्रम सञ्चालन गरेको हो ।
तालिमको पहिलो चरणमा १८० जना शिक्षक प्रशिक्षित भएका छन् भने आगामी आइतबार थप १८० जनालाई तालिम दिने विभागको योजना रहेको छ। पहिलो चरणको तालिम समापन गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले यस तालिमले शिक्षकहरूमा मूल्याङ्कन प्रणालीबारे स्पष्टता ल्याउनुका साथै शिक्षण कार्यमा आत्मविश्वास समेत जगाएको बताउनुभयो ।
तालिमका क्रममा शिक्षकहरूबीच उत्कृष्ट एवं नवीन अभ्यासहरूको आदानप्रदान, पाठ्यक्रमको संरचना, विषयगत विशेषता, र नवीनतम शिक्षण विधिको प्रयोगबारे विस्तृत छलफल गरिएको थियो । साथै, विद्यार्थी मूल्याङ्कनका विभिन्न साधनको प्रयोग, सिकाई उपलब्धि अभिलेखन फाराम भर्ने तरिका, जीपीए (GPA) गणना र विद्यार्थीको प्रगति प्रतिवेदन तयार गर्ने जस्ता प्राविधिक विषयहरूमा शिक्षकहरूलाई प्रयोगात्मक ज्ञान प्रदान गरिएको तालिम सहजकर्ता सीता पाण्डेले जानकारी दिनुभयो ।
महानगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षकहरूको क्षमता विकासलाई विशेष प्राथमिकता दिएको छ । यस अवधिमा कुल १ हजार ६४६ जना शिक्षकहरूलाई विभिन्न विधामा तालिम प्रदान गरिसकिएको छ । जसमा बाल विकास सहजकर्ता, मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श, नेपाल भाषा प्रशिक्षण, सूचना र प्रविधि , र एकीकृत पाठ्यक्रम कार्यान्वयन सम्बन्धी तालिमहरू समावेश छन् ।
महानगरका अनुसार आगामी असार महिनामा थप १८० जना शिक्षकलाई विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी तालिम प्रदान गरिने लक्ष्य राखिएको छ। शिक्षकहरूको क्षमता विकास गरी सिकेको ज्ञान र सिपलाई कक्षाकोठामा प्रभावकारी रूपमा कार्यान्वयन गर्दा सामुदायिक विद्यालयको नतिजामा उल्लेखनीय सुधार आउने अपेक्षा महानगरपालिकाले राखेको छ ।