काठमाडौँ उपत्यकाका सार्वजनिक सवारीमा प्रविधिको निगरानी: ३,३०३ साधनमा सीसीक्यामेरा र जीपीएस जडान

काठमाडौँ, ९ असार । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायात सेवालाई थप सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन प्रविधिको प्रयोगलाई तीव्र पारिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म उपत्यकाभित्र चल्ने ३ हजार ३०३ वटा सार्वजनिक सवारीसाधनहरूमा ड्यासक्यामेरा, सीसीक्यामेरा र जीपीएस प्रणाली जडान भइसकेको छ।

सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, सवारी व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले यी प्रविधिहरू अनिवार्य जडान गर्नुपर्ने व्यवस्था लागू गरेसँगै यसको अनुगमनसमेत सुरु गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सार्वजनिक यातायातमा हुने यात्रुमाथिको दुर्व्यवहार, बढी भाडा असुली र चालकहरूको लापरवाही नियन्त्रण गर्न यो प्रविधि अत्यन्त उपयोगी हुने बताउनुभयो।

“यस प्रविधिको प्रयोगले यात्रु सुरक्षा मात्र नभई, सडक दुर्घटना हुँदा ठूला सवारीसाधनलाई मात्र दोषी देखाउने प्रवृत्तिको अन्त्य गर्न र दुर्घटना बीमाको सम्भावित दुरुपयोग रोक्नसमेत मद्दत पुग्नेछ,” एसएसपी काफ्लेले भन्नुभयो। उहाँका अनुसार जीपीएस प्रणालीका कारण सवारीधनीले समेत आफ्नो गाडी कुन स्थानमा कसरी गुडिरहेको छ भनी सहजै अद्यावधिक जानकारी प्राप्त गर्न सक्नेछन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले सार्वजनिक गाडीमा प्रविधि जडान गर्ने कार्य व्यवसायीका लागि पनि सकारात्मक कदम भएको बताउनुभयो। “सार्वजनिक सवारीमा क्यामेरा र जीपीएस जडान गर्नु राम्रो कुरा हो, तर यसका लागि सरकारले चाँडै स्पष्ट कार्यविधि ल्याउन आवश्यक छ,” अध्यक्ष सिटौलाले भन्नुभयो, “कार्यविधि बनेपछि हामी सम्पूर्ण सार्वजनिक सवारीसाधनहरूमा यो प्रणाली जडान गरेर अगाडि बढ्न तयार छौँ।”

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले आगामी दिनमा उपत्यकाभित्र चल्ने सबै सार्वजनिक सवारीसाधनहरूमा यो प्रणालीलाई अनिवार्य गराउने योजना रहेको जानकारी दिनुभयो।