जुम्लाका आठवटै स्थानीय तहद्वारा बजेट सार्वजनिक: चन्दनाथ नगरपालिकाको सबैभन्दा धेरै
जुम्ला, ११ असार । जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लाको एक मात्र नगरपालिका चन्दनाथसहित सातवटै गाउँपालिकाले बुधबार (असार १० गते) एकैसाथ आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।
सार्वजनिक विवरणअनुसार जिल्लाको सदरमुकामसमेत रहेको चन्दनाथ नगरपालिकाले ५९ करोड ४६ लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको छ । यस्तै, अन्य पालिकाहरूको बजेट यसप्रकार छ:
तातोपानी गाउँपालिका: ५४ करोड २८ लाख ८ हजार रुपैयाँ
तिला गाउँपालिका: ५० करोड ५१ लाख ७१ हजार रुपैयाँ
सिँजा गाउँपालिका: ४५ करोड ४८ लाख १८ हजार रुपैयाँ
पातारासी गाउँपालिका: ४५ करोड ४६ लाख ६ हजार रुपैयाँ
कनकासुन्दरी गाउँपालिका: ४५ करोड १२ लाख ७७ हजार रुपैयाँ
हिमा गाउँपालिका: ४३ करोड ७९ लाख ६६ हजार रुपैयाँ
गुठीचौर गाउँपालिका: ३८ करोड ३६ लाख ८३ हजार रुपैयाँ (असार ९ गते नै सार्वजनिक भएको)
तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण, सुशासन र दिगो पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ । यस्तै, कला–संस्कृति तथा सम्पदाको संरक्षण, सुलभ आधारभूत स्वास्थ्य सेवा र रोजगारीमूलक गुणस्तरीय शिक्षालाई पनि बजेटले विशेष जोड दिएको छ ।
जुम्लाका पालिकाहरूले कृषि, पर्यटन र सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत समेट्दै आगामी वर्षका लागि बजेट तर्जुमा गरेका छन् । अधिकांश पालिकाहरूले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई नै बजेटको मुख्य स्रोतका रूपमा राखेका छन् ।