कोलम्बियाको संघर्षपूर्ण जित, घानालाई हराउँदै अन्तिम १६ मा स्विट्जरल्यान्डसँग भेट

काठमाडौँ, २० असार । फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको क्यान्सस सिटीमा शुक्रबार राति सम्पन्न खेलमा कोलम्बियाको जितमा झोन एरियासले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। उनले खेलको १४औँ मिनेटमा लुइस सुवारेजको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए।

खेलको सुरुआतमै दुवै टोली चोटका कारण खेलाडी परिवर्तन गर्न बाध्य भएका थिए। त्यसपछि खेलमा पकड जमाएको कोलम्बियाले लगातार आक्रमण बुने पनि थप गोल गर्न भने सकेन। लुइस डियाज, डाभिन्सन सान्चेज र हुआन फर्नान्डो क्विन्टेरोले अवसर सिर्जना गरे पनि घानाका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए।

घानाले खेलभर संघर्ष गरे पनि कोलम्बियाको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन। प्रभावशाली आक्रमण गर्न नसक्दा अफ्रिकी टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

यस जितसँगै कोलम्बियाले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले जुलाई ७ मा स्विट्जरल्यान्डसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *