भेनेजुएलामा १२६ वर्षयताकै शक्तिशाली भूकम्प: २३५ जनाको मृत्यु, ४३ सय घाइते
एजेन्सी, १२ असार । उत्तरी भेनेजुएलामा बुधबार राति गएको दुईवटा शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। ७.२ र ७.५ म्याग्निच्युडका यी महाभूकम्पमा परी हालसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ हजार ३०० भन्दा बढी मानिस घाइते भएका छन्।
भग्नावशेषभित्र अझै सयौँ मानिस पुरिएको आशङ्का गरिएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार एक मिनेटभन्दा कमको अन्तरालमा आएका यी दुई कम्पनले उत्तरी भेनेजुएलाका सहरहरूलाई तहसनहस पारेको छ। सन् १९०० पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित तटीय राज्य ला गुआइरा भएको छ। त्यहाँका सयौँ घर र भवनहरू भत्किएका छन्। उद्धारकर्मीहरूले आधुनिक उपकरण र दक्ष जनशक्तिको अभावका कारण खाली हातले भग्नावशेष हटाएर जीवितहरूको खोजी गरिरहेका छन्।
काराकासको उत्तरमा पर्ने एक बस्तीमा उद्धारको पर्खाइमा रहेकी एक युवतीको घण्टौँसम्मको चिच्याहटपछि मृत्यु भएको हृदयविदारक घटना सार्वजनिक भएको छ। ला गुआइरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि उडानहरू बन्द गरिएका छन्, जसले गर्दा बाह्य राहत सामग्री ल्याउन चुनौती थपिएको छ।
डोमिङ्गो लुसियानी अस्पतालका चिकित्सकहरूका अनुसार भूकम्पपछि धेरै बालबालिका अभिभावकविहीन अवस्थामा फेला परेका छन्। कतिपय बालबालिकालाई पहिचान पट्टी बाँधेर एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको छ। भूकम्पपछि सिर्जित अस्तव्यस्तताको फाइदा उठाउँदै केही स्थानमा खाद्यान्न पसलहरूमा लुटपाट समेत भएको एएफपीले जनाएको छ।
महासङ्कटको यो घडीमा विश्वका विभिन्न देशहरूले सहयोगको हात बढाएका छन्। संयुक्त राज्य अमेरिकाले १५ करोड अमेरिकी डलर बराबरको सहायता, दुई युद्धपोत र हेलिकप्टर परिचालन गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलालाई तीव्र र प्रभावकारी सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यस्तै, भारत, चीन, ब्राजिल, स्विट्जरल्याण्ड, स्पेन, फ्रान्स र मेक्सिकोले पनि विशेषज्ञ उद्धार टोली र राहत सामग्री पठाउने घोषणा गरेका छन्। पोप लियो चौधौँले प्रारम्भिक १ लाख युरो सहायता पठाउनुभएको छ भने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुएलाको पक्षमा उभिन अपिल गर्नुभएको छ।
गत जनवरीमा अमेरिकी सेनाको हस्तक्षेपपछि राष्ट्रपति निकोलस मदुरो सत्ताच्युत भएसँगै भेनेजुएलामा हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले नेतृत्व गरिरहनुभएको छ। विपद्पछि रोड्रिग्जले प्रभावित क्षेत्रको भ्रमण गरी उद्धार कार्यको अनुगमन गर्नुभएको छ।
क्यारिबियन र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटको सीमामा अवस्थित भेनेजुएलाको उत्तरी तट भूकम्पीय दृष्टिले सधैँ जोखिमपूर्ण मानिन्छ। यसअघि सन् १९६७ मा आएको भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए।