हामी मिल्नुको विकल्प छैन तर आज मिलेको छ, भोलि फुटेको छ, त्यस्तो नहोस्ः माधव नेपाल

काठमाडौं, १४ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको गतिविधिप्रति शंका गर्दै नेपालले गणतन्त्र र लोकतन्त्र जोगाउन कम्युनिस्टहरूले अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको छ ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका सन्दर्भमा आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले जनताका समस्या सम्बोधन वा समस्या उजागर जनताका विचमा जानुपर्ने भन्दै त्यसका लागि कम्युनिस्ट नेताहरूले आत्म केन्द्रीत चिन्तन परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पनि कम्युनिस्टहरूबिच सहकार्य गर्दै एकता गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि कुराले चिउरा भिजाउने नभई भावनाबाटै मिल्नुपर्नेमा जोड दिनुभयो ।

‘आज मिलेको छ, भोलि फुटेको छ, त्यस्तो नहोस्’, नेता नेपालले भन्नुभयो, ‘विधि र नीतिमाथि मन्थन गर्दै एकता हुनुपर्छ । यो आजको आवश्यकता रहेको छ।’ मुलुकमा एक समय अत्यन्त बलियो बनेको कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभयो । झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेता नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमीक्षा गर्नुपर्छ भन्नुभयो ।