भदौ २४ पछि प्रतिक्रान्तिकारी कदम बढ्दै गएको छः प्रचण्ड
काठमाडौं, १४ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्रमभङ्गलाई प्रकृति, समाज र मानव समाजको नियम भएको भन्दै निरन्तरतामा क्रमभंगको गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै आफूले क्रमभंगको कुरा गर्दा उत्पात नै गर्न थाल्यो भन्ने गरेको टिप्पणी खण्डन गर्नुभयो ।
मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उहाँले आफू एकताका लागि नहतारिएको पनि उल्लेख गर्नुभयो । ‘मैले क्रमभंग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन् । यो त प्रकृति, समाज र मानव समाजको नियम हो, निरन्तरतामा क्रमभंग । मैले त्यही भन्ने गर्छु । गरिराख्नुपर्ने हुन्छ, क्रमभंग,’ प्रचण्डले भन्नुभयो, ‘केही साथीहरू सधैं एकै ठाउँमा बस्ने गरेको र भिक्षु बनेर घण्टी बजाइरहेको देख्छु । बौद्ध भिक्षु रहेछौं घण्टी बजाइराख्छु भन्या छ, अहिले पनि नयाँ जनवाद नै भनेको छ, त्यो कुराले कहिँ लाँदैन । अहिले परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ । यसलाई तपाईं गतिशील ठान्नुहुन्छ, परिवर्तनको बुझ्ने नेता ठान्नुहुन्छ, धन्यवाद । अर्को ठान्नुहुन्छ, त्यो पनि धन्यवाद ।’
उहाँले आजै सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने उहाँको भनाई छ । ‘नेपालमा कम्युनिष्ट आन्दोलनलाई के गरी सिध्याउने भन्ने प्रयास भइरहेको छ। यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, राष्ट्रिय स्वाधिनता, निरंकुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरूद्ध छिटोभन्दा वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुनेछ। सहकार्य गर्न ढिलो गर्दा दुर्घटना हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको छ । भदौ २४ पछि प्रतिक्रान्तिकारी कदम बढ्दै गएको छ । नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन्। त्यसैले हामीले विगतका कमजोरीबारे समीक्षा गरेर राष्ट्रका सामु आएको चुनौतीको सामना मिलेर गर्नुपर्छ । यसमा ढिला नगरौँ सबैले आ–आफ्नै ठाउँबाट वातावरण बनाऔँ ।’