हामी ढलेका मात्रै हौँ मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौंः ओली
काठमाडौं, १४ असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला अझै जारी रहेको भन्दै त्यसलाई परास्त गरेर छाड्ने दाबी गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘हामी ढलेका मात्रै हौँ मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं,’उहाँले भन्नुभयो, ‘धुलो टक्टक्याउँदै उठ्छौं । अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं ।’
उहाँले अहिलेको सरकार र यसले गरिरहेका गतिविधिहरूप्रति पनि आपत्ति जनाउनुभयो । असंवैधानिक ढंगबाट संसद् विघटन गरी चुनाव गएको प्रसंग उठाउँदै उहाँले त्यतिबेलादेखि अहिलेसम्म असंवैधानिक ढंगले चलिरहेको उल्लेख गर्नुभयो । ‘हामीले यो चुनाव रोकौं भन्दा सबैले एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने साथीहरूले,’ ओलीले भन्नुभयो, ‘यो चुनाव बामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन । पहिले नै परिणाम तय थियो । अहिले पनि प्रतिगमनको सिलसिला जारी रहेको छ ।’
‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भएको भन्दै ओलीले त्यस षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गरेर सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाएको आरोप लगाउनुभयो ।
‘हामीले देश बर्बाद पार्यौ भन्ने भाष्य गलत हो , प्यारामिटरहरु हेरौँ। देशद्रोही काम गरेर, विकासका काम नगरेर होइन, झुठा प्रचार गरेर अफवाह फैलाएर हामीलाई बदनाम गर्ने क्रियाकलाप भए र जनतामा आक्रोश पैदा गरियो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो प्रतिगमनको आयोजनाका लागि त्यो गरिएको थियो र अहिले पनि जारी छ।’