साम्राज्यवादी र प्रतिक्रियावादीहरूलाई परास्त गर्न कम्युनिष्टहरु एक हुन जरुरी छः झलनाथ खनाल

काठमाडौं, १४ असार । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका सन्दर्भमा आइतबार काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ कार्यक्रम भयो । कार्यक्रममा चार कम्युनिष्ट पूर्वप्रधानमन्त्री र निवर्तमान राष्ट्रपतिले सम्वोधन गर्नुभयो ।

सो कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजकै मितिदेखि कार्यगत एकता गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले चुनावअघि नै एकता गरेको भए आज यो हविगत भोग्न नपर्ने भन्दै अव ढिला गर्नु नहुनेमा जोड दिनुभयो ।

उहाँले चुनावअघि कम्युनिष्टहरु मिलेर गएको भए बालेन शाहको तानाशाह नचल्ने पनि जिकिर गर्नुभयो । खनालले कम्युनिष्टहरुले आफूले विगतमा पाएको अवसर खेर फालेको स्मरण गर्दै गम्भीर आत्मसमीक्षा गर्दै नयाँ धरातलबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले अहिलेको आवश्यकता वामपन्थी एकता भएको उल्लेख गर्नुभयो ।

उहाँले समयले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँ उभ्याएको भन्दै निकै लामो समयपछि दुई प्रमुख वामपन्थी दलका नेताहरू एकै ठाउँ उपस्थित भएकोमा खुसी लागेको बताउनुभयो । उहाँले साम्राज्यवादी र प्रतिक्रियावादीहरूलाई परास्त गर्न एक हुनुको विकल्प नगरेको भन्दै भन्नुभयो– ‘सबै कमरेडहरूलाई एकताबद्धका लागि अनुरोध गर्न चाहन्छु। अब दीर्घकालीन रूपमा एकता हुने थालनी गरौँ । तब मात्रै आज हाम्रो देशमाथि साम्राज्य र प्रक्रियावादीहरूले बबण्डर मच्चाइरहेकाहरू परास्त हुनेछन्।’ उहाँले जेनजीहरुले भदौ २४ मा आगो लगाएर आफ्नो भविष्य नै अन्योल बनाएको उल्लेख गर्नुभयो ।