म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा ‘कम्पोजित’ सुरक्षा पर्खाल निर्माण सम्पन्न
म्याग्दी, १५ असार । म्याग्दी नदीको बाढी र कटानको उच्च जोखिममा रहेको बेनी नगरपालिका–७ मङ्गलाघाटमा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सफलतापूर्वक कार्यान्वयनमा आएको छ। जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीको प्राविधिक सहयोगमा मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा अत्याधुनिक ‘कम्पोजित’ प्रविधिको सुरक्षा पर्खाल निर्माण सम्पन्न भएको हो।
आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित पर्खाल निर्माण गरिएको छ। यस प्रविधिअन्तर्गत नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसीसी (ढलान) र माथिल्लो भागमा तीन मिटर अग्लो ग्याभियन (जाली) पर्खाल उठाइएको छ।
यस योजनाका लागि निर्माण कम्पनीसँग २०८२ फागुन १० गते ९९ लाख १९ हजार २९५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। आगामी असार १९ गतेसम्म सम्झौताको म्याद रहे पनि निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको हो। निर्माण सामग्रीको मूल्यवृद्धिका बावजुद प्रभावकारी रूपमा जनशक्ति र उपकरण परिचालन गरी समयमै काम सकिएको निर्माण पक्षले जनाएको छ।
बेनी बजारको पश्चिमतर्फ अवस्थित मङ्गलाघाट क्षेत्रमा दुई सयभन्दा बढी व्यक्तिगत घर, विभिन्न सरकारी कार्यालय र कर्मचारी आवास गृहहरू रहेका छन्। यसअघि पनि यस क्षेत्रमा आयोजनामार्फत विभिन्न चरणमा गरी पाँच सय मिटरभन्दा लामो पक्की पर्खाल निर्माण भइसकेको छ। सरकारले म्याग्दीको सदरमुकाम बेनीलाई नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ।
आयोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको उच्च जोखिममा रहेका म्याग्दी, मुस्ताङ र पर्वतका १७ वटा विभिन्न स्थानहरूमा सञ्चालित सालबसाली नदी नियन्त्रण योजनाहरू निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।