भरेङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

 

मकवानपुर, १६ असार । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा पहिरो खस्दा आज बिहानैदेखि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँहरूमा समेत साना–ठूला पहिरोहरू खसेका छन्। अविरल वर्षा जारी रहेकाले पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको र मौसममा सुधार आएपछि मात्र पहिरो पन्छाएर सडक सुचारु गरिने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले अर्को सूचना जारी नहुँदासम्म यस सडकखण्ड भएर सवारीसाधन सञ्चालन नगर्न र काठमाडौँ–हेटौँडा आउजाउका लागि अन्य वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ। लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेकाले पहाडी मार्गहरूमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनसमेत प्रहरीले आग्रह गरेको छ।