विश्वकप २०२६: नकआउट चरणको रोमाञ्चकता— के हुन् अतिरिक्त समय र पेनाल्टी सुटआउटका नियमहरू?

 

काठमाडौं, १६ असार ।  फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत सोमबार भएका दुई रोमाञ्चक खेलहरूले फुटबल जगतमा नयाँ चर्चा पैदा गरिदिएका छन्। जर्मनी विरुद्ध पराग्वे र मोरक्को विरुद्ध नेदरल्याण्ड्सबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि हार–जितको फैसला पेनाल्टी सुटआउटबाट गरिएको छ।

जर्मनीको ऐतिहासिक हार र मोरक्कोको पुनरागमन
पराग्वे र जर्मनीबीचको खेल निकै नाटकीय रह्यो। खेलको अन्तिम समयतिर जर्मनीका जोनाथन टाले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले त्यसलाई रद्द गरिदियो। रेफ्रीले वाल्डेमार एन्टोनले पराग्वेका गोलरक्षक ओर्लान्डो गिललाई फाउल गरेको ठहर गरेका थिए। अन्ततः पेनाल्टी सुटआउटमा पराग्वे ४–३ ले विजयी भयो। यो हार जर्मनीको विश्वकप इतिहासमा पेनाल्टी सुटआउटमा भएको पहिलो हार हो।

अर्कोतर्फ, नेदरल्याण्ड्स विरुद्धको खेलमा मोरक्कोले अन्तिम मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो। त्यसपछिको पेनाल्टी सुटआउटमा मोरक्कोले ३–२ को जित निकाल्दै अघिल्लो चरणमा स्थान सुरक्षित गर्‍यो।

यी नाटकीय खेलहरूसँगै धेरै दर्शकहरूमा नकआउट चरणका नियमहरूबारे कौतुहलता जागेको छ। अतिरिक्त समय र पेनाल्टी सुटआउट कसरी सञ्चालन हुन्छ? यहाँ विस्तृत विवरण दिइएको छ:

अतिरिक्त समय (Extra Time) भनेको के हो?
विश्वकपको नकआउट चरणमा यदि ९० मिनेटको नियमित खेल बराबरीमा सकियो भने विजेता छनोट गर्न ३० मिनेटको थप समय दिइन्छ, जसलाई ‘अतिरिक्त समय’ भनिन्छ।

  • समय सीमा: यो ३० मिनेटलाई १५–१५ मिनेटको दुई आधा भागमा बाँडिएको हुन्छ।

  • साइड परिवर्तन: ९० मिनेटको खेलमा जस्तै १५ मिनेटपछि दुवै टोलीले मैदानको साइड परिवर्तन गर्छन्।

पेनाल्टी सुटआउट कहिले हुन्छ?
यदि ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै टोलीले स्पष्ट अग्रता लिन सकेन र खेल बराबरीमै रह्यो भने विजेताको टुङ्गो लगाउन पेनाल्टी सुटआउटको सहारा लिइन्छ।

पेनाल्टी सुटआउटका मुख्य नियमहरू:

  • टसको भूमिका: रेफ्रीले सिक्का उफारेर (टस गरेर) कुन गोलपोस्टमा प्रहार गर्ने र कुन टोलीले पहिले प्रहार गर्ने भन्ने निर्णय गर्छन्।

  • पाँच प्रहारको नियम: सुरुमा दुवै टोलीले पालैपालो ५–५ पटक पेनाल्टी प्रहार गर्छन्।

  • खेलाडी चयन: अतिरिक्त समयको अन्तिम सिट्ठी बज्दा मैदानमा रहेका खेलाडीहरूले मात्र पेनाल्टी हान्न पाउँछन्। यसमा गोलरक्षक पनि प्रहारकर्ता बन्न सक्छन्।

  • सडन डेथ : यदि ५–५ प्रहारपछि पनि स्कोर बराबर रह्यो भने ‘सडन डेथ’ नियम लागु हुन्छ। यसमा एक–एक प्रहार गरिन्छ; जसै एक टोलीले गोल गर्छ र अर्कोले चुकाउँछ, खेल त्यहीँ समाप्त हुन्छ।

  • गोलरक्षकको स्थिति: बल प्रहार हुनुअघि गोलरक्षक गोल लाइनमै रहनुपर्छ। उनी लाइनमा दायाँ–बायाँ चल्न पाउँछन् तर बल प्रहार हुनुअघि अगाडि बढ्न पाउँदैनन्।

विश्वकप इतिहासका केही स्मरणीय पेनाल्टी सुटआउटहरू:

  • १९९४ फाइनल: विश्वकप इतिहासमा पहिलोपटक फाइनलको निर्णय पेनाल्टीबाट भएको थियो, जहाँ ब्राजिलले इटालीलाई ३–२ ले हराएको थियो। इटालीका रोबर्टो बाज्जोले पेनाल्टी चुकाएको त्यो क्षण अझै पनि फुटबल इतिहासको दुखद क्षण मानिन्छ।

  • १९९० सेमिफाइनल: पश्चिम जर्मनीले इङ्गल्याण्डलाई र अर्जेन्टिनाले आयोजक इटालीलाई पेनाल्टी सुटआउटमै पराजित गरेका थिए।

  • २००६ फाइनल: इटालीले फ्रान्सलाई ५–३ ले हराउँदै विश्वकप जितेको थियो।

  • २०१८ विश्वकप: क्रोएसियाले राउन्ड अफ १६ मा डेनमार्क र क्वार्टरफाइनलमा रुसलाई पेनाल्टीमै हराएर सनसनी मच्चाएको थियो।

विश्वकप २०२६ मा पनि यस्तै रोमाञ्चक मोडहरू आउने क्रम जारी छ, जसले फुटबलको अनिश्चितता र सुन्दरतालाई झल्काइरहेको छ।(स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)