स्वीडेनमाथि फ्रान्सको सानदार जित, विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडौं , १७ असार। साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा स्वीडेनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको हो ।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे नायक बने । उनले दुई गोल गरे भने ब्राडली बारकोलाले एक गोलको योगदान दिए । खेलको सुरुवातदेखि नै स्वीडेनमाथि दबाब बनाएको फ्रान्सले पहिलो हाफको अन्तिम समयमा अग्रता लिएको थियो । खेलको ४५औं मिनेटमा एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याए ।
दोस्रो हाफमा पनि फ्रान्सले आफ्नो आक्रामक लयलाई निरन्तरता दियो । खेलको ५३औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । त्यसैगरी, ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ३–० को सहज जित निकाल्न सफल भयो ।
गोल्डेन बुटको दौडमा एम्बाप्पे र मेसी बराबरी
यो खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनी कप्तान लियोनल मेसीसँग बराबरी गरेका छन् । दुवै खेलाडीको नाममा समान ६–६ गोल भएको छ ।
पुरै खेल अवधिभर फ्रान्सले बलमाथि नियन्त्रण राख्दै स्वीडेनलाई गोल गर्ने खासै अवसर दिएन । यो जितसँगै फ्रान्स उपाधि दाबेदारको रूपमा थप बलियो देखिएको छ ।