सामुदायिक कुकुर व्यवस्थापनका लागि बागलुङ नगरपालिकाद्वारा ‘डग होस्टेल’ सञ्चालन

काठमाडौँ, असार १७ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका र समस्याग्रस्त सामुदायिक कुकुरहरूको दिगो व्यवस्थापनका लागि आवासीय सुविधासहितको ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। बागलुङ बजार क्षेत्रमा सामुदायिक कुकुरका कारण बढ्दै गएको जोखिम र समस्यालाई सम्बोधन गर्न नगरपालिकाले उद्धार तथा संरक्षण अभियान सुरु गरेको हो ।

बागलुङ नगरपालिका–३ सिम्लेस्थित पाँच रोपनी सार्वजनिक जग्गामा करिब १ करोड रुपैयाँको लागतमा उक्त सुविधा सम्पन्न संरचना निर्माण गरिएको हो। यस आयोजनामा बागलुङ नगरपालिकाको ३५ लाख रुपैयाँ र गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपैयाँ लगानी रहेको छ। ५० वटा कुकुर राख्ने क्षमता रहेको उक्त होस्टेलमा हाल पहिलो चरणमा २० वटा बेवारिसे, बिरामी तथा अशक्त कुकुरहरूलाई संरक्षण दिइएको छ।

नगरपालिकाका पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाका अनुसार कुकुरहरूको हेरचाहका लागि आवश्यक कर्मचारी, खानपान, औषधि र खोपको पूर्ण व्यवस्था मिलाइएको छ। साथै, कुकुरहरूलाई खेल्नका लागि खुल्ला चौर र तारबारसहितको सुरक्षित आवास निर्माण गरिएको छ।

नगर प्रमुख वसन्तकुमार श्रेष्ठले घरपालुवा कुकुरहरू बिरामी भएपछि सडकमा छाड्ने प्रवृत्तिका कारण दुर्घटना र आक्रमणको जोखिम बढेकाले यो कदम चालिएको बताउनुभयो। “हामीले सामुदायिक कुकुरहरूको बन्ध्याकरणसँगै उनीहरूलाई व्यवस्थित खानपान र आवासको प्रबन्ध मिलाएका छौँ,” उहाँले भन्नुभयो।

यसैबीच, नगरपालिकाले घरपालुवा कुकुरहरूको दर्ता प्रक्रियालाई समेत अनिवार्य बनाएको छ। कुकुर धनीले २०० रुपैयाँ शुल्क तिरेर अनिवार्य दर्ता गर्नुपर्ने र आफ्नो कुकुर सडकमा छाडेमा सम्बन्धित धनीलाई नै जिम्मेवार बनाइने नीति नगरपालिकाले लिएको छ। यो नयाँ व्यवस्थाले बागलुङ बजारलाई सफा र सुरक्षित बनाउनुका साथै पशु अधिकारको समेत संरक्षण हुने अपेक्षा गरिएको छ।