सेयर बजारमा नेप्से ४४ अङ्कले बढ्दा १३ उपसमूह नै हरियाली
काठमाडौँ, १७ असार । शेयर बजारमा नेप्से परिसूचक लगातार सात कारोबार दिनको गिरावटपछि बुधबार दोहोरो अङ्कले बढेर बन्द भएको छ। यस दिन नेप्से ४४.५९ अङ्कले बढेर २,६५२.९३ विन्दुमा पुगेको हो। परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ५.७७ अङ्क, फ्लोट इण्डेक्स २.८२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अङ्कले बढेका छन्। मङ्गलवार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार ३६२ कम्पनीका ५६ हजार ८५० पटकको कारोबारमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको ९५ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आजको कारोबारमा स्नो रिभर्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य ६८ रुपैयाँ १० पैसाले बढेर प्रतिइकाइ ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १४ प्रतिशतभन्दा बढी र भुजुङ्ग हाइड्रोपावरको मूल्य करिब १४ प्रतिशतले वृद्धि भएको छ। अर्कातर्फ, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ५.२१ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको २८ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको साढे १७ करोड रुपैयाँ, आँखु खोला जलविद्युत् कम्पनीको १७ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक यस दिन बढेर बजार हरियाली बनेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी २.६० प्रतिशतले बढेको छ। यस्तै जलविद्युत्, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।