घटेको मूल्यमा इन्धन बिक्री नगर्ने र कृत्रिम अभाव देखाउने पेट्रोल पम्पलाई आयल निगमले ‘सिल’ गर्ने

काठमाडौँ, १७ असार । नेपाल आयल निगमले घटेको मूल्यमा इन्धन बिक्री नगरी कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूलाई सिल (तालाबन्दी) गरी कानुनी कारबाही गर्ने भएको छ। काठमाडौँ उपत्यकासहित देशभरका कतिपय पेट्रोल पम्पहरूले ‘इन्धन छैन’ भन्ने बोर्ड टाँसेर पम्प बन्द गरी उपभोक्तालाई सास्ती दिएपछि निगमले अनुगमन तीव्र पार्दै कारबाहीको चेतावनी दिएको हो।

बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरिएको गुनासो बढेपछि निगमले काठमाडौँ उपत्यकामा तीनवटा विशेष टोली परिचालन गरेर सघन अनुगमन सुरु गरेको छ। खटिएका टोलीलाई सम्बन्धित पेट्रोल पम्पमा स्थलगत निरीक्षण गर्दा इन्धन स्टक भएर पनि वितरण नगरेको वा बहाना बनाएर पम्प बन्द राखेको पाइएमा तत्कालै पम्प सिल गर्ने अख्तियारी (कार्यादेश) दिइएको छ।

यसअघि मङ्गलवार मात्रै नेपाल आयल निगमले उपभोक्तालाई राहत दिने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएको थियो। मूल्य घटेपछि थप आर्थिक नोक्सानी बेहोर्नुपर्ने भन्दै कतिपय पम्प सञ्चालकहरूले इन्धन लुकाएर कृत्रिम अभाव सिर्जना गर्न खोजेको उपभोक्ताहरूको गुनासो छ। सम्भावित कालोबजारी रोक्न अनुगमन टोलीलाई चुस्त बनाइएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *