चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. सिंह नियुक्त

काठमाडौँ, १९ असार । सरकारले चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष डा. सिंहले आज शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

अस्पतालको अध्यक्ष चयनका लागि गठित मन्त्रालयको छनोट समितिले प्राप्त आवेदनहरूमध्येबाट डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो। सिफारिस गरिएका तीन जनामध्येबाट सरकारले डा. सिंहलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त अध्यक्ष डा. सिंह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच) मा ४६ वर्ष लामो विशिष्ट सेवा प्रदान गरी अवकाश प्राप्त गर्नुभएका चिकित्सा क्षेत्रका स्थापित वरिष्ठ चिकित्सक हुनुहुन्छ। उहाँको यस लामो अनुभवले अस्पतालको व्यवस्थापन, सेवाको गुणस्तर सुधार र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।