मुआब्जा विवाद समाधान भएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माणले गति लियो
जनकपुरधाम, २१ असार । लामो समयदेखि अल्झिएको जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास रेलमार्ग अन्तर्गत बिजलपुरा–बर्दिबास खण्डको निर्माण कार्यले गति लिएको छ। १८ किलोमिटर लामो यस खण्डमा मुआब्जाको विषय टुङ्गिएपछि भौतिक निर्माण कार्यले तीव्रता पाएको हो।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा विस्तार गर्ने लक्ष्यका साथ निर्माण कम्पनी ‘इरकन इन्टरनेसनल’ ले काम अघि बढाएको छ। हाल धनुषा र महोत्तरी क्षेत्रमा धमाधम रेल्वे ट्र्याक निर्माण भइरहेको छ।
कूल ७० किलोमिटर लम्बाइको जयनगर–बर्दिबास रेलमार्गमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नै नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ। बाँकी खण्डको काम भने जग्गा प्राप्ति र मुआब्जा विवादका कारण प्रभावित हुँदै आएको थियो।
यसैबीच, नेपाल रेल्वे कम्पनीले विभिन्न स्थानमा अतिक्रमणमा परेको आफ्नो स्वामित्वको जग्गा खोज्न सुरु गरेको छ। महाप्रबन्धक पराजुलीका अनुसार रेल्वेको जग्गा अतिक्रमण भएको गुनासो र सूचनाका आधारमा आधिकारिक नक्सालाई मुख्य आधार मानी जग्गाको पहिचान र रेखाङ्कन गर्ने कार्य थालिएको हो।
नेपाल र भारतबीचको द्विपक्षीय सहकार्य अन्तर्गत निर्माणाधीन यो ब्रोडगेज रेलमार्ग दुई देशबीचको पारवहन, व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउन महत्त्वपूर्ण सीमापार परियोजना मानिएको छ। यस परियोजनाले नेपालको रेल पूर्वाधार विकास र विस्तारमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।