संसद्‌मा उठेका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ, २२ असार । सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका विषयहरूको तत्काल जवाफ दिन सरकारलाई रुलिङ (निर्देशन) गरेका छन्। जारी प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका गम्भीर सवालहरूमा सरकारको ध्यानाकर्षण गराउँदै सभामुख अर्यालले यस्तो निर्देशन दिएका हुन्।

सभामुख अर्यालले बैठकमा माननीय सदस्यहरूद्वारा उठाइएका गम्भीर र महत्त्वपूर्ण विषयहरूको जवाफ दिन सरकारलाई निर्देशित गरे। उनले देशका विभिन्न भागमा मनसुन सक्रिय भएसँगै सुरु भएको बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न सरकारले गरेका पूर्वतयारी र उद्धारका कार्यहरूबारे संसद्‌लाई जानकारी गराउनसमेत भनेका छन्।

संसद्‌मा रुलिङ गर्दै सभामुख अर्यालले भने, “माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद् व्यवस्थापनका पूर्वतयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।”

प्रतिनिधिसभाका बैठकहरूमा सांसदहरूले देशभर अविरल वर्षाका कारण राजमार्गहरू अवरुद्ध भएको, नदी किनारका बस्तीहरू जोखिममा परेको र राहत तथा उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। संसद्‌मा लगातार आवाज उठ्दा पनि सरकारी पक्षबाट चित्तबुझ्दो सम्बोधन नभएको गुनासोपछि सभामुखबाट यस्तो निर्देशन आएको हो।