फेरिँदै रोपाइँको शैली: नवलपरासीमा धान रोप्ने मेसिनतर्फ किसानको आकर्षण, लागत र समय दुवै बचत
नवलपरासी, २३ असार । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँको शैली अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा फेरिन थालेको छ। कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव र बढ्दो उत्पादन लागतका बीच आधुनिक मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्न थालेको हो।
जिल्लाको मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्षयता कृषि यान्त्रीकरणले गति लिएसँगै किसानहरू प्रविधिमैत्री बन्न थालेका छन्।
मध्यविन्दु नगरपालिका–१ मा प्रकृति कृषि सहकारी संस्थामार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले यतिबेला ठूलो क्षेत्रफलमा छोटो समयमै रोपाइँ सम्पन्न गरिरहेको छ। परम्परागत विधिबाट दिनौँ लाग्ने काम मेसिनले केही घण्टामै सकाउँदा किसानहरू उत्साहित छन्।
सहकारीका सचिव ओमप्रसाद पाठकका अनुसार मेसिनको प्रयोगले श्रमिकको आवश्यकता मात्र घटाएको छैन, रोपाइँलाई व्यवस्थित समेत बनाएको छ। “खेतीपातीमा जनशक्ति नपाइने अवस्थामा मेसिनले कृषि कार्यलाई सहज बनाएको छ,” पाठक भन्छन्, “कम श्रम र कम समयमा बढी काम हुने भएपछि किसानको विश्वास प्रविधितर्फ बढेको छ।”
मध्यविन्दु नगरपालिकाले कृषिलाई व्यावसायिक र प्रविधिमैत्री बनाउन विशेष लगानी गरिरहेको छ। नगरप्रमुख भीमलाल अधिकारीका अनुसार नगरपालिकाले धान रोप्ने मेसिन, कम्बाइन हार्भेस्टर र कृषि एम्बुलेन्स जस्ता आधुनिक उपकरणहरू किसानलाई ८५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ।
“उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र युवाहरूलाई कृषि पेसामा आकर्षित गर्ने हाम्रो मुख्य लक्ष्य हो,” नगरप्रमुख अधिकारीले भने। जिल्लाको गैँडाकोट नगरपालिकाका पाँचवटा वडामा ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम’ अन्तर्गत ‘धान जोन’ सञ्चालनमा छ। त्यहाँ पनि कृषक समूहहरूले धान रोप्ने मेसिन र कम्बाइन हार्भेस्टरको प्रयोगलाई प्राथमिकता दिइरहेका छन्।
कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा करिब १९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। “श्रमिक अभाव र जलवायु परिवर्तनका चुनौतीहरू थपिँदै जाँदा आधुनिक प्रविधिको प्रयोग अब किसानका लागि रहर होइन, आवश्यकता बनेको छ,” ढकालले स्पष्ट पारे। खेतीपातीमा यान्त्रीकरणको विस्तारसँगै किसानको शारीरिक श्रम घट्नुका साथै कृषि पेसालाई आधुनिक उद्यमका रूपमा हेर्न थालिएको छ।