शेयर बजारमा नेप्से २६ अङ्कले घट्दा कारोबार रकम साढे ३ अर्बमा सीमित

काठमाडौँ, २२ असार । सोमबार शेयर बजारका सबै सूचकहरूमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.२९ अङ्क (०.९९ प्रतिशत) ले घटेर २ हजार ६२७ अङ्कमा कायम भएको छ। अघिल्लो कारोबार दिन पनि ८.३० अङ्कले घटेको बजारमा सोमबार दिनभरजसो नै गिरावटको क्रम जारी रह्यो।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि ह्रास आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएकोमा सोमबार कुल ३ अर्ब ५५ करोड रुपैयाँको मात्र कारोबार भएको छ। बजारमा कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको मूल्य ओरालो लागेको छ। ४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

सोमबार कारोबार भएका सबै उपसमूहका सूचकहरू राताम्मे बनेका छन्। सबैभन्दा बढी व्यापार उपसमूह ३.१५ प्रतिशतले घटेको छ। यस समूहमा रहेको विशाल बजार कम्पनीको सेयर मूल्य ३.५० प्रतिशतले घटेपछि समग्र उपसमूह नै बढी प्रभावित भएको हो। यस्तै, वित्त उपसमूह १.२४, उत्पादन तथा प्रशोधन १.१७, बैंकिङ १.०६, जलविद्युत् ०.९८, निर्जीवन बीमा ०.९८, लघुवित्त ०.८९ र होटल तथा पर्यटन उपसमूह ०.७८ प्रतिशतले घटेका छन्।

यस दिन हालै सूचीकृत भएका नयाँ कम्पनीहरू सानीगढ हाइड्रोपावर, कालङ्गा हाइड्रोपावर र स्नो रिभर फल्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ११.५५ प्रतिशतले वृद्धि भयो। अर्कोतर्फ, थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १३.७९ प्रतिशतले घट्यो भने अघिल्लो दिन राम्रो वृद्धि भएको नेपाल फाइनान्सको सेयर मूल्य सोमबार ११.६४ प्रतिशत र खानीखोला हाइड्रोपावरको मूल्य ९.७२ प्रतिशतले ओरालो लाग्यो।

सोमबार सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल र शिवम् सिमेन्ट सर्वाधिक कारोबार हुने कम्पनीहरूको अग्रपंक्तिमा रहेका छन्।