बैतडीमा कच्ची घर भत्किँदा गर्भवतीसहित तीन जना घाइते, एककाे अवस्था गम्भीर

बैतडी, २२ असार । बैतडीको मेलौली नगरपालिका–१ सिराडमा एक घर भत्किँदा आठ महिनाकी गर्भवतीसहित तीन जना घाइते भएका छन्। स्थानीय सुने पार्कीको दुईतले कच्ची घर भत्किँदा उनीहरू घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सिनाका अनुसार घाइते हुनेहरूमा पार्कीकी २२ वर्षीया बुहारी प्रिया पार्की (८ महिनाकी गर्भवती), १८ वर्षीया छोरी मनिषा र १३ वर्षीया चाँदनी रहेका छन्। घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ढुङ्गा र माटोको जोडाइ भएको दुईतले कच्ची घरको मुख्य निधाल (दलिन) अचानक भाँचिएर घर भत्किएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी र स्थानीय बासिन्दाको संयुक्त सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो। उनीहरूलाई उपचारका लागि मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको र त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ।