काठमाडौँ महानगर नगर सभा : विभिन्न समितिका प्रतिवेदन र ऐन संशोधन प्रस्ताव पेश
काठमाडौँ, असार २३ । काठमाडौँ महानगरपालिकाको १९ औँ नगर सभाको पाँचौँ बैठकमा विभिन्न विषयगत समितिका वार्षिक प्रतिवेदन र ऐन संशोधनका प्रस्तावहरू पेश गरिएका छन् । नगर सभाका अध्यक्ष एवं कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको बैठकमा न्यायिक समिति, सुशासन समिति र लेखा समितिले आफ्ना प्रतिवेदनहरू प्रस्तुत गरेका हुन् ।
बैठकमा न्यायिक समितिको प्रतिवेदन समितिका सदस्य आशा श्रेष्ठ रौनियारले पेश गर्नुभएको थियो। त्यसैगरी, विकास तथा सुशासन समितिको प्रतिवेदन संयोजक सिर्जना भेटवाल र लेखा समितिको वार्षिक प्रतिवेदन संयोजक गायत्री पुडासैनीले सभा समक्ष प्रस्तुत गर्नुभयो । प्रस्तुत गरिएका प्रतिवेदनमध्ये लेखा समिति र सुशासन समिति नगर सभा अन्तर्गतका समिति हुन् ।
सोही बैठकमा कार्यपालिका अन्तर्गतको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले दुईवटा महत्त्वपूर्ण संशोधन प्रस्तावहरू पेश गर्नुभयो। जसमा ‘महानगर प्रहरी ऐन, २०८० को दोस्रो संशोधन विधेयक २०८३’ र ‘भवन निर्माण मापदण्ड, २०८० को दोस्रो संशोधन २०८३’ रहेका छन् ।
सभाका अध्यक्ष डंगोलले आज पेश भएका प्रतिवेदन, ऐन तथा मापदण्ड संशोधनका प्रस्ताव र चौथो बैठकमा पेश भई विधायन समितिमा पठाइएका विभिन्न विधेयकहरूमाथि छलफल गर्न आगामी असार २५ गते अर्को बैठक आह्वान गर्नुभएको छ। यसअघि चौथो बैठकमा जनस्वास्थ्य, शिक्षा, विवाद निरुपण, विपद व्यवस्थापन र कर्मचारी सेवा सम्बन्धी ऐनका संशोधन प्रस्तावहरू छलफलका लागि विधायन समितिमा पठाइएको थियो ।
गत जेठ ३१ गतेदेखि सुरु भएको नगर सभाको १९ औँ अधिवेशनले यसअघि नै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेको छ। असार ४ गते प्रस्तुत गरिएको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको कूल बजेट र सोसँग सम्बन्धित आर्थिक तथा विनियोजन विधेयकलाई असार १७ गतेको चौथो बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो ।
नगर सभाको आगामी बैठकमा हालसम्म पेश भएका सबै संशोधन प्रस्तावहरूमाथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।
