गणेश नेपालीको मृत्यबारे गृहमन्त्रीः कानुन टेकेर अघि बढ्दा अप्रिय घटना भयो
काठमाडौं, २६ असार । गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनामा गृहमन्त्री सुदन गुरुङले कानुन टेकेर अघि बढ्दा अप्रिय घटना भएको अभिव्यक्ति दिनुभएको छ । आज संसदमा बोल्दै गृहमन्त्री गुरुङले भन्नुभयो– ‘नेपालीले आत्मदाह गरेको घटना घटेको स्थानमा कुन दलको सरकार छ ?’ भनी प्रश्न गर्नुभयो । ‘सम्मानित सदनलाई सभामुखमार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु । हाम्रो तीन तहको सरकार हुन्छ,’ गृहमन्त्री गुरुङले भन्नुभयो, ‘एउटा, संघीय सरकार, एउटा प्रदेश सरकार र अर्को स्थानीय सरकार । जुन ठाउँमा घटना घट्यो ।
त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा छ, ट्राफिकले ह्वीलक गरेको छ ? म विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले ? रास्वपाको छ ? प्रदेश सरकार कसको छ अहिले ? रास्वपाको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको ? तपाईंहरूले कानुन बनाएको हो, हामीले त्यही कानुन टेकेको हो ।’ उहाँको त्यस्तो गैरजिम्मेवार अभिव्यक्तिको अधिकांशले विरोध गरेका छन् ।
त्यसो त अभियन्ता रक्षा बमले सरकारले दोस अरुमाथि थोपारेर ओभानो बन्न खोजेको भन्दै मन्त्री गुरुङको अभिव्यक्ति अघि नै कडा शब्दमा आलोचना गर्नुभएको थियो । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उहाँले भन्नुभएको छ– ‘३५ वर्षको भारी पुरानालाई बोकाउने रास्वपा समर्थक र बालेनको फ्यानबोईहरूले, बालेनलाई ३ वर्षको भारी बोकाउन अब तयार हुनुपर्छ,’ उनले लेखेकी छिन्, ‘आज गणेश आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन काठमाडौंको मेयर हुँदा महानगर प्रहरीमा प्लान्ट गरिएको अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति नै हो। बालेनको नगरप्रहरीले निरन्तर गरिब ,सडक व्यापारी र सुकुम्बासीको आत्मसम्मानमा हमला गरिरह्यो, र मेयरसाबले त्यसलाई मानवीय दृष्टिकोणबाट कहिल्यै पनि हेर्न चाहेनन्। अहिले पनि उनी यसलाई निरन्तरता दिइरहेका छन्, मेयरताकाको तुलनामा उनको डोजर अझ ठूलो भएको छ, नगरप्रहरीको लाठीबाट एकै इसारामा प्रहरी र सेनाको बन्दुकका नाल तेर्साउन सक्ने भएका छन्।’
उहाँले मेयरको चुनावी अभियानमा सजिलै सडक व्यापारी व्यवस्थापन गर्छु भनेर धाक लगाएका उम्मेदवार बालेन शाहले महानगरको कमाण्डर भएपछि एकाएक बदलिए र गरिबमारा बन्न पुगेको पनि स्मरण गराउनु भएको छ । ‘सत्य कुरा के हो भने अति भएर चमेली अभियान, अभियानता इः, महानगर बाहिर १९९ घण्टा उभिँदा सम्म वार्ता प्रारम्भ गर्ने चाईचुई नगरेपछि, उनकै सचिवालयबाट विद्रोह हुने अवस्था सिर्जना भयो अनि मात्र गलेका हुन्। पछि अदालतले अंकुश लगाउन थालेपछि आफ्नो एक्सप्रेस वेमा कुदिरहेको डोजरको स्पीड घटाएका हुन्,’ उहाँले भन्नुभएको छ, ‘तर उनले त्यो गरिबमारा शैली संरचनागत रूपमा प्लान्ट गरिसकेका थिए। कर्णालीमा सडक छेउ काफल बेच्ने दिदीको आत्मसम्मानमा त्यही प्लान्टेड प्रवृत्तिले झापड हानेको हो, वनका कर्मचारीको भेषमा त्यही प्लान्टेड प्रवृत्तिले गरिबको अटो भिरबाट गुल्टाएको हो। र यो चलिरहने छ, जबसम्म समाजको ठूलो एउटा तप्काले यी कदमहरूलाई प्रोत्साहन गर्छ। गरिब र अन्यायमा परेकाको आँसु उसको लागि मिम मेटेरियल बन्छ, तबसम्म यो चलिरहन्छ।’
उहाँले अब एउटा तप्का आत्मदाह गर्ने गणेशमाथि प्रश्न र लाञ्छना तेर्साउन सुरु गर्छ भन्दै गणेशको मृत्युको दोष राज्यबाट सुनिता डंगोल नेतृत्वको महानगरलाई लगाउन खोज्छ भन्ने आशंका पनि गर्नुभएको छ । ‘सरकार नयाँ फण्डा खोज्न थाल्छ, सम्भवतः अब केही दिनमा अर्को विवादास्पद कुरा तुरुप सरह हामिमाझ फालिन्छ, मास डाइभर्ट गरिन्छ। सुधन गुरुङका कारण चर्को आलोचना हुन थालेपछि, एकाएक थापथलीको सुकुम्बासी बस्तिमा बिना तयारी डोजर चलाए जसरी। र सुधन गुरुङको पुनर्वहालीमा दरबार हत्याकाण्डको छानबिन गर्छु भनेजसरी,’ उहाँले भन्नुभएको छ, ‘त्यसैले जबसम्म बालेनले आफ्नो शैली सुधार्दैनन्, उनलाई निरन्तर गल्ती दोहोर्याउन छुट दिने फ्यानबोईहरूले बालेनलाई ३ वर्षे महानगरकालीन सत्ता सञ्चालनको भारी बोकाउँदैनन्, तबसम्म यो चलिरहन्छ, गणेशहरू मरिरहन्छन्। अलविदा गणेश। धेरै सतायो यो राज्यले । अब आराम गर।’