महाङ्काल परिसरमा झल्कियो प्राचीन भव्यता : ८ करोड ९५ लाखमा ठडियो ‘चौघेरा सत्तल’
काठमाडौँ, साउन २१ । काठमाडौँको मुटुमा रहेको ऐतिहासिक एवं धार्मिक महत्त्वको महाङ्काल मन्दिर परिसरले पुरानै स्वरूप र भव्यता पाएको छ । २०७२ सालको विनाशकारी भूकम्पले जीर्ण बनाएको मन्दिर परिसरको ‘चौघेरा सत्तल’ अहिले परम्परागत शैली र आधुनिक मजबुतीका साथ ठडिएको छ । करिब ९ करोड रुपैयाँको लागतमा सम्पन्न यस पुनःनिर्माणले काठमाडौँको प्राचीन वास्तुकलालाई मात्र ब्युँताएको छैन, सम्पदा क्षेत्रको व्यावसायिक प्रयोग अन्त्य गर्ने नयाँ बहस समेत सुरु गरेको छ ।
साउन २१ गते सोमबार एक विशेष समारोहका बिच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नवनिर्मित सत्तलको उद्घाटन गर्नुभयो । उद्घाटनसँगै अब यो क्षेत्र धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापको केन्द्र बन्ने निश्चित भएको छ ।
८४ वर्ष पुरानो तस्विरको जगमा पुनःनिर्माण
यस सत्तलको पुनःनिर्माणमा विशेष ध्यान दिइएको पक्ष भनेको यसको मौलिकता हो । वि. सं. १९९७ सालमा खिचिएको ऐतिहासिक तस्विरलाई आधार मानेर यसको डिजाइन तयार पारिएको थियो । पुनःनिर्माणमा आधुनिक कंक्रिटको सट्टा परम्परागत निर्माण सामग्रीको प्रयोग गरिएको छ ।
सम्पदा तथा पर्यटन विभागका अनुसार, ५८३.८१ वर्गमिटर क्षेत्रफलमा फैलिएको यस सत्तलमा डाँछी अपा (इँटा), बुट्टेदार काठ, झिँगटीको छानो र भुइँमा तेलिया इँटाको प्रयोग गरिएको छ । सत्तलको भुइँतलामा ९ वटा कोठा, पहिलो तलामा ३ वटा ठुला सभा कक्ष र एउटा भण्डार कक्षसहित बुइँगल समेत रहेको छ । ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँको लगानीमा सम्पन्न यो आयोजनाले सम्पदा संरक्षणमा महानगरको गम्भीरता झल्काएको छ ।
‘व्यापार होइन, संस्कार र संस्कृति’
सत्तल उद्घाटनका क्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले स्पष्ट सन्देश दिनुभयो, “सम्पदा क्षेत्र व्यापार गर्ने थलो होइन ।” गुठी संस्थानले संरचना हस्तान्तरणको प्रसङ्ग उठाएपछि डंगोलले भन्नुभयो, “करदाताको लगानीमा बनेका यस्ता ऐतिहासिक स्मारकमा व्यावसायिक क्रियाकलाप गर्न हामी सहमत हुन सक्दैनौँ । यहाँ केवल धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधि मात्र हुनुपर्छ ।”
उनले पुननिर्मित संरचनालाई स्थानीयले आफ्नै घर जस्तो जतन गर्नुपर्नेमा जोड दिँदै यसमा सबै सरोकारवालाको ‘अपनत्व’ हुनुपर्ने बताउनुभयो । वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले पनि विवाद सुल्झाएर सहअस्तित्वका आधारमा कसरी काम गर्न सकिन्छ भन्ने उदाहरण महाङ्काल सत्तल बनेको उल्लेख गर्नुभयो ।
१३०५ वर्ष पुरानो इतिहास र तान्त्रिक शक्ति
महाङ्काल मन्दिरको इतिहास करिब १३०५ वर्ष पुरानो (सातौँ वा आठौँ शताब्दी) मानिन्छ । मन्दिरका मूल पुजारी दिपकहर्ष बज्राचार्यका अनुसार यसको स्थापनाको कथा निकै रोचक र तान्त्रिक शक्तिसँग जोडिएको छ ।
जनश्रुति अनुसार, तान्त्रिक शाश्वत बज्रले आकाश मार्गबाट जाँदै गरेका भगवान् शिव (महाङ्काल) लाई आफ्नो तान्त्रिक शक्तिले खिचेर काठमाडौँमा रोकेका थिए । लोक कल्याणका लागि यहाँ बस्न गरिएको आग्रहमा शिवले “काठमाडौँ काशी जत्तिकै शुद्ध नभएको” भन्दै बस्न अस्वीकार गरेका थिए । तर, तान्त्रिकले आफ्नो शक्तिले गङ्गा र विश्वनाथलाई नै काठमाडौँमा आव्हान गरिदिएपछि शिव यहाँ बस्न राजी भएको किंवदन्ती छ ।
हरेक मङ्गलवार र शनिवार मात्र आउने वाचा गरेका शिवको यो मन्दिर अहिले हिन्दू, बौद्ध र माडवारी समुदायको साझा आस्थाको केन्द्र हो । बौद्धमार्गीहरू यसलाई पवित्र तीर्थ मान्छन् भने माडवारी समुदायले ‘शनिदेव’ का रूपमा पूजा गर्छन् ।
सम्पदा संरक्षणमा महानगरको सक्रियता
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय आफ्नो क्षेत्रभित्रका मात्र नभई अन्य निकायको दायित्वमा रहेका सम्पदाहरूको पनि पुनःनिर्माण गरिरहेको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, “हामी भत्किएका सम्पदा हेरेर बस्न सक्दैनौँ । पूर्खाको नासो पुस्तान्तरण गर्न हामी संवेदनशील छौँ ।”
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पनि महानगरको यो सक्रियताको प्रशंसा गर्नुभएको छ । महाङ्कालको यो सत्तल पुनःनिर्माण केवल एउटा भवनको निर्माण मात्र होइन, यो काठमाडौँको ऐतिहासिक गरिमा र सांस्कृतिक पहिचानको पुनस्र्थापना पनि हो ।
अबको चुनौती भनेको यो भव्य संरचनालाई व्यावसायिक कोलाहलबाट जोगाएर यसको पवित्रता र सांस्कृतिक गरिमालाई कायम राख्नु नै हो ।
