इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि: इराकका पवित्र सहरहरूमा हजारौँ शोकाकुल समर्थकको भीड

एजेन्सी, २५ असार । इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम अन्तर्गत इराकका पवित्र शिया धार्मिक सहरहरू नजाफ र कर्बलामा बुधबार हजारौँ शोकाकुल समर्थकहरू सहभागी भएका छन्। अत्यधिक भीडका कारण केही समय शवयात्रा प्रभावित भएपछि व्यवस्थापन टोलीले कफिनलाई सुरक्षित राख्न भुइँनजिक राख्नुपरेकाे थियो।

गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा ८६ वर्षीय खामेनीको मृत्यु भएको थियो। उनको अन्त्येष्टि संस्कार चलिरहँदा हर्मुज क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य तनाव पुनः चर्किएको छ। अमेरिकी सेनाले बुधबार इरानमाथि आक्रमण गरेपछि जवाफमा इरानले पनि कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूमा प्रहार गरेको दाबी गरेको छ।

तेहरानमा शनिबारदेखि सुरु भएको श्रद्धाञ्जलि सभा सकिएपछि खामेनीको पार्थिव शरीरलाई इराक ल्याइएको हो। विश्वभरका शिया मुस्लिमका लागि पवित्र मानिने नजाफमा मङ्गलबार पार्थिव शरीर पुर्‍याइँदा ठुलो सङ्ख्यामा समर्थकहरू जम्मा भएका थिए। शवयात्रामा इरानी राष्ट्रपति मसुद पेजेस्कियान, विदेशमन्त्री अब्बास अराघची तथा अन्य वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

नजाफस्थित इमाम अलीको पवित्र मन्दिरमा वरिष्ठ धर्मगुरु मुहम्मद ताकी अल–हाकिमले अन्त्येष्टि प्रार्थनाको नेतृत्व गरेका थिए। कफिन मन्दिरतर्फ लैजाँदा भीडले धक्का दिएपछि अवस्था केहीबेर अनियन्त्रित बनेको थियो।

त्यसपछि पार्थिव शरीरलाई इमाम हुसेनको समाधिस्थल रहेको कर्बला पुर्‍याइएको थियो। त्यहाँ इराकका प्रमुख शिया धर्मगुरुका प्रतिनिधि अब्दुल महदी अल–कारबालेईले अन्त्येष्टि प्रार्थना गराएका थिए। कर्बलामा पनि भीड अत्यधिक भएपछि व्यवस्थापकहरूले कफिनलाई भुइँमा राखेर श्रद्धाञ्जलिको व्यवस्था मिलाएका थिए।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता एवं दिवंगत खामेनीका पुत्र आयातोल्लाह मोजताबा खामेनी भने अन्त्येष्टि कार्यक्रममा सहभागी भएनन्।