कीर्तिपुरको डुबानग्रस्त होल्डिङ सेन्टरका सुकुम्वासीहरू भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण
काठमाडौँ, २८ असार । काठमाडौँको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्वासी होल्डिङ सेन्टर बाढीका कारण डुबानमा परेपछि त्यहाँ आश्रित सुकुम्वासीहरूलाई सरकारले भक्तपुर स्थानान्तरण गरेको छ। शनिबार र आइतबार गरी दुई दिनको अवधिमा ३१ परिवारका ८९ जना सुकुम्वासीलाई भक्तपुरको खरिपाटी र बोडेमा सारिएको हो।
बाग्मती नदी किनारका असुरक्षित बस्ती डुबानमा पर्न सक्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाख १२ गते बल प्रयोग गरी सुकुम्वासीहरूलाई सो होल्डिङ सेन्टरमा सारेको थियो। सुरुमा १५ दिनका लागि अस्थायी रूपमा राखिने भनिए पनि दुई महिना बितिसक्दा समेत स्थायी व्यवस्थापन नहुँदा सुकुम्वासीहरूले अर्को संकटको सामना गर्नुपरेको हो। दुई दिनअघि अविरल वर्षाका कारण बाग्मतीको बाढी होल्डिङ सेन्टरभित्रै पसेपछि सुकुम्वासीहरूको बिजोग भएको थियो।
मध्यराति अचानक बाढी पसेपछि अधिकांश परिवारले आफ्ना खाद्यान्न, लत्ताकपडा र महत्त्वपूर्ण सामग्रीहरू सुरक्षित स्थानमा सार्न पाएनन्। डुबानका कारण उनीहरूका सम्पूर्ण भौतिक सरसामान भिजेर नष्ट भएका छन्। होल्डिङ सेन्टर पूरै डुबेपछि सुरक्षाकर्मीहरूले डुङ्गाको प्रयोग गरी उनीहरूको उद्धार गरेका थिए।
सुरक्षा निकायका अनुसार होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये पहिलो चरणमा ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको थियो। जस अन्तर्गत ३१ परिवारका ८९ जनालाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणकाे तालिम केन्द्रमा स्थानान्तरण गरिएको हाे ।