‘सुकुम्बासी व्यवस्थापनमा राज्य संवेदनहीन, विस्थापितमाथि थप जोखिम’ – नेता आङ्देम्बे
काठमाडौँ, असार २८ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीबाट विस्थापित गरिएका नागरिकहरूलाई सरकारले अझ भयावह जोखिममा धकेलेको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ ।
नेता आङ्देम्बेले सुकुम्बासीहरूको सुरक्षित व्यवस्थापन गर्ने भनी प्रधानमन्त्री बालेन शाहले गर्नुभएको सार्वजनिक प्रतिबद्धतामाथि प्रश्न उठाउनुभएको छ । उहाँले प्रमुख शाहको पूर्वप्रतिबद्धता स्मरण गराउँदै भन्नुभयो, ‘असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित र व्यवस्थित स्थानान्तरण गरिनेछ भनी गरिएको प्रतिबद्धता कहाँ हरायो ? के विस्थापितलाई डुबानको जोखिममा राख्नु नै सुरक्षित व्यवस्थापन हो ?’
जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका सुकुम्बासी नागरिकलाई राखिएको कीर्तिपुरस्थित ‘होल्डिङ सेन्टर’ नै डुबानमा परेपछि सरकारको कदम आलोचित बनेको छ । नेता आङ्देम्बेका अनुसार सरकारले नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह संकटमा पुर्याएको यथार्थ छर्लङ्ग भएको छ ।
सुरक्षित आश्रयको आश्वासन पाएका सुकुम्बासी नागरिकहरू यतिबेला पुनः भोक, पानी, हिलो र असुरक्षाबीच पीडादायी जीवन बिताउन बाध्य भएको उल्लेख गर्दै आङ्देम्बेले यसलाई राज्यको गैरजिम्मेवारी र असफल शासनको ज्वलन्त उदाहरणका रूपमा चित्रण गर्नुभएको छ ।
यसैगरी, नेता आङ्देम्बेले सरकारले नागरिकको प्रश्न उठाउने अधिकारमाथि समेत निषेध गर्न खोजेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ । होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था बुझ्न र सरकारसँग जवाफ माग गर्न खोज्ने माजिद अन्सारीलगायतका युवाहरूलाई बलपूर्वक नियन्त्रणमा लिइएको घटनालाई उहाँले ‘लज्जास्पद’ भन्नुभएको छ ।
‘लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ?’ भनी प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो आक्रमण हो ।’
नेता आङ्देम्बेले महानगर प्रमुखलाई सुकुम्बासी नागरिकसँग गरिएको वाचाको जवाफ दिन आग्रह गर्दै इतिहासले खोक्रा भाषणको नभई नागरिकसँग गरिएका प्रतिबद्धता र त्यसको कार्यान्वयनको हिसाब राख्ने स्पष्ट पार्नुभएको छ । उहाँले तत्काल विस्थापित नागरिकको सुरक्षित र सम्मानजनक बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ ।