उपत्यकाको तिर्खा मेट्ने सुन्दरीजल आफैँ काकाकुल: मुहानकै बासिन्दा खानेपानी पाउनबाट वञ्चित
काठमाडौँ, २८ असार । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजल क्षेत्रका स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानीको हाहाकार झेल्न बाध्य छन्। राजधानीवासीका लागि वितरण गरिने मेलम्ची र वाग्मतीको पानी सुन्दरीजलमै प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अधिकांश बस्तीमा नियमित आपूर्ति नहुँदा स्थानीयवासी ढुङ्गेधारा, कुवा र सार्वजनिक धाराको भरमा छन्।
मुहान क्षेत्रकै बासिन्दा खानेपानीबाट वञ्चित भएको विषयमा जनप्रतिनिधिहरूले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
सिन्धुपाल्चोकको हेलम्बुबाट २७.५ किलोमिटर सुरुङमार्फत सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी र वाग्मती नदीको पानी यहीँ प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ। तर, मुहानकै बासिन्दाले पानी नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ। कागेश्वरी मनोहरा–३ भद्रवासकी सावित्री सापकोटाले १० लिटर पानीका लागि गोकर्णेश्वर–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म दैनिक आधा घण्टा पैदल हिँड्नुपर्ने र पालोका लागि दुई घण्टा कुर्नुपर्ने बाध्यता सुनाइन्। स्थानीय केशवप्रसाद पुडासैनीले स्थानीय सरकारले विभिन्न योजना सम्पन्न भएको दाबी गरे पनि दिगो व्यवस्थापनको अभावमा स्वच्छ खानेपानीको अधिकार कुण्ठित भएको गुनासो गरे।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा पानी वितरण हुन नसकेको स्वीकार गरे। स्थानीयवासी प्रेम श्रेष्ठले सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन नहुँदा शुद्ध पानी वितरण प्रभावित भएको भन्दै यसको तत्काल मर्मत गर्न माग गरे।
केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा पञ्चायतकालमा निर्माण गरिएको पुरानो वितरण प्रणाली रहेकाले हालको जनघनत्व धान्न नसकेको बताए।
यसैबीच, प्रशोधन केन्द्र प्रभावकारी रूपमा चल्न नसक्दा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो आउने गरेको अत्तरखेलका स्थानीय नोर्साङ शेर्पाको गुनासो छ। यस्तो धमिलो पानीका कारण छालामा समस्या देखिने गरेको र यसबारे एक दशकदेखि आवाज उठाउँदा पनि कतैबाट सुनुवाइ नभएको उनले बताए।