हर्मुज जलसन्धि तत्काल नखोलिने, अमेरिकामाथि ऊर्जा मूल्यमा खेलबाड गरेको इरानको आरोप

 

तेहरान (एजेन्सी)। मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले सामरिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने ‘हर्मुज जलसन्धि’  तत्काल खोल्न आफूलाई कुनै हतार नभएको स्पष्ट पारेको छ। इरानी उपपरराष्ट्रमन्त्री काजेम घारिबाबादीले जलसन्धि अहिले पनि बन्द रहेको र यसलाई पुनः सञ्चालनमा ल्याउन तेहरानले कुनै हतारो नगर्ने बताएका हुन्।

इरानको शक्तिशाली सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ ले उक्त जलसन्धिमा आफ्नो पूर्ण र मजबुत नियन्त्रण रहेको दाबी गरेको छ। विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गको रूपमा रहेको यस क्षेत्रमा इरानी सेनाको सक्रियताले विश्व बजारमा ऊर्जाको मूल्य र सुरक्षालाई लिएर चिन्ता बढाएको छ।

अमेरिकामाथि गम्भीर आरोप
यसैबीच,’इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ ले अमेरिकी नेताहरूमाथि गम्भीर आरोप लगाएको छ। इरानी सेनाका अनुसार अमेरिकी प्रशासनले जलसन्धिको अवस्थालाई लिएर विश्व समुदायमा भ्रमपूर्ण र गलत बयानबाजी गरिरहेको छ। अमेरिकाले जानाजानी गलत सूचना फैलाएर अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्यमा उतारचढाव ल्याउन र आफ्नो स्वार्थ अनुकूल मूल्य निर्धारण गर्न खोजेको इरानको दाबी छ।

के हो हर्मुज जलसन्धिको महत्व?
हर्मुज जलसन्धि विश्वकै सबैभन्दा महत्वपूर्ण ‘चोक पोइन्ट’ मध्ये एक हो। विश्वमा खपत हुने कुल पेट्रोलियम पदार्थको ठूलो हिस्सा यही जलमार्ग भएर ओसारपसार हुने गर्दछ। इरानले यस जलसन्धिलाई बन्द गरिदिँदा विश्वव्यापी इन्धन आपूर्तिमा अवरोध पुग्ने र यसले विश्व अर्थतन्त्रमै ठूलो असर पार्ने देखिएको छ।

इरान र इजरायलबीच प्रत्यक्ष सैन्य मुठभेडको स्थिति सिर्जना भइरहँदा तेहरानले जलसन्धिलाई एक रणनीतिक हतियारको रूपमा प्रयोग गरिरहेको विश्लेषण गरिएको छ। अमेरिका र उसका सहयोगी राष्ट्रहरूले भने इरानलाई जलमार्ग निर्बाध रूपमा सञ्चालन गर्न दबाब दिँदै आएका छन्।