भोटेकोशीमा पुनः बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
काठमाडौँ, १४ भदौ । विगत केही दिनअघिको विनाशकारी बाढीको घाउ सेलाउन नपाउँदै रसुवाको भोटेकोशी नदीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि तटीय क्षेत्रमा फेरि जोखिम बढेको हो ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले ल्हेन्दे खोलाबाट ठुलो बाढी आइरहेकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ । बाढीका कारण हुन सक्ने सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च निगरानी बढाएको छ ।
यसअघि गत भदौ १० गते बुधबार सोही ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म ठुलो मानवीय र भौतिक क्षति पुर्याएको थियो । अघिल्लो विपद्का बेपत्ताहरूको खोजी र उद्धार कार्य जारी रहेकै अवस्थामा पुनः बाढी आएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् ।
प्रशासनले नदीको बहावमा आउन सक्ने उतारचढावलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा सर्न र आधिकारिक सूचनाको प्रतीक्षा गर्न सबैमा अनुरोध गरेको छ ।