मुख्य प्रवेशद्वारमै शङ्कास्पद सवारी राखेर सञ्चारगृह लक्षित योजनाबद्ध अवरोध, अनुसन्धान सुरु
काठमाडौँ, २९ असार । सङ्घीय राजधानीका प्रमुख सञ्चारगृह र सार्वजनिक व्यापारिक केन्द्रहरूलाई लक्षित गरी सोमबार बिहान ‘सुनियोजित’ रूपमा शङ्कास्पद सवारी साधन पार्किङ गरिएको छ। कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजन जस्ता ठुला सञ्चार गृहका मुख्य प्रवेशद्वारमै निजी सवारी साधन तेर्स्याएर कर्मचारी र सञ्चारकर्मीहरूको आवागमन पूर्ण रूपमा अवरुद्ध पारिएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै अनुसन्धान सुरु गरेको छ।
प्राप्त विवरण अनुसार, सोमबार बिहानैदेखि बुद्धनगरस्थित अनलाइनखबर, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन र थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यालय गेटबाहिर अज्ञात व्यक्तिहरूले निजी नम्बर प्लेटका कारहरू बेवारिसे अवस्थामा छाडेका थिए। यस्तै, अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि पनि बिहान ७ बजेदेखि एउटा शङ्कास्पद गाडी पार्क गरिएको भेटिएको छ।
यस शृङ्खलाबद्ध अवरोधका कारण सञ्चारकर्मीहरू कार्यालयभित्र प्रवेश गर्न र सवारी साधन बाहिर निकाल्न नपाउँदा दैनिक समाचार सङ्कलन र सम्प्रेषणको काम समेत प्रभावित बनेको छ।
घटनाको जानकारी पाएलगत्तै काठमाडौँ जिल्ला प्रहरी परिसर र उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोली सम्बन्धित स्थानहरूमा परिचालन गरिएको छ। कान्तिपुर पब्लिकेशनको गेट अगाडि राखिएको सवारी साधनलाई प्रहरीले ‘क्रेन’ प्रयोग गरेर हटाएको छ भने अन्य स्थानका सवारीहरू हटाउने प्रक्रिया जारी छ। काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार, ती सवारी साधनका धनीको पहिचान गर्ने कार्य भइरहेको छ। “सञ्चारगृह जस्तो संवेदनशील क्षेत्रमा यसरी सवारी साधन छाडेर जानुको उद्देश्य र संलग्न व्यक्तिको खोजीका लागि सीसीटीभी फुटेज र प्रविधिको प्रयोग गरिरहेका छौँ,” उहाँले भन्नुभयो।
नेपाल पत्रकार महासङ्घले सञ्चारगृहको गेटमै शङ्कास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति कडा ध्यानाकर्षण जनाएको छ। महासङ्घले यसलाई प्रेस स्वतन्त्रता र निर्बाध सूचना प्रवाहको अधिकारमाथिको हस्तक्षेप भन्दै तत्काल अवरोध हटाउन र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। साथै, यो ‘साइकोलोजिकल’ दबाब दिने प्रयास भएको भन्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग समेत गरिएको छ।