इरानी सञ्चारमाध्यमद्वारा ट्रम्प र नेतान्याहुलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
एजेन्सी, २९ असार । प्रभावशाली अमेरिकी सिनेटर लिन्डसे ग्राहमको आकस्मिक निधनसँगै इरान र संयुक्त राज्य अमेरिकाबीचको वाकयुद्ध र भू-राजनीतिक तनावले उग्र रूप लिएको छ। इरानका सरकारी तथा कट्टरपन्थी सञ्चारमाध्यमहरूले ग्राहमको मृत्युलाई ‘प्रतिशोधको शृङ्खला’ का रूपमा चित्रण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लक्षित गरी कडा धम्कीपूर्ण सामग्रीहरू प्रकाशित गरेपछि मध्यपूर्वको सुरक्षा चिन्ता थप चुलिएको छ।
इरानको प्रभावशाली दैनिक पत्रिका ‘हामशहरी’ ले आफ्नो मुख्य पृष्ठमा “आकस्मिक मृत्युका लागि तयार हुनुहोस्” शीर्षकको सामग्री प्रकाशित गर्दै राष्ट्रपति ट्रम्प, इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी रक्षामन्त्री पीट हेग्सेथको तस्बिरलाई विशेष रूपमा प्रस्तुत गरेको छ। सो सामग्रीमा ट्रम्पलाई निरीह अवस्थामा देखाइएको सन्देशमूलक ग्राफिक्स समेत समावेश गरिएको छ।
अर्को कट्टरपन्थी पत्रिका ‘भातान–ए इमरोज’ ले ग्राहमलाई “मृत्युका व्यापारी” को संज्ञा दिँदै उनको निधनलाई इरानको कट्टर विरोधीको अन्त्यका रूपमा व्याख्या गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका समाचार वाचकहरूले समेत सार्वजनिक रूपमै ग्राहमको निधनप्रति खुसी व्यक्त गर्दै उनलाई “नरक पठाइएको” भनी आक्रामक टिप्पणी गरेका छन्।
ग्राहमको निधनपछि अमेरिकाको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानसँग आबद्ध समूहहरूले यसलाई ‘रहस्यमयी’ भन्दै विभिन्न षड्यन्त्रका सिद्धान्तहरू अघि सारेका छन्। कतिपय समर्थकले यस घटनामा इरानको शक्तिशाली अर्धसैनिक दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’को संलग्नता हुन सक्ने आशङ्का व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि हुन सकेको छैन।
दक्षिण क्यारोलिनाबाट निर्वाचित सिनेटर ग्राहम दशकौँदेखि अमेरिकाको आक्रामक विदेश नीतिका प्रमुख पक्षधर हुनुहुन्थ्यो। उहाँले इरानको वर्तमान शासन व्यवस्था परिवर्तन हुनुपर्ने, युक्रेनलाई सैन्य सहायता बढाउनुपर्ने र गाजा मामिलामा इजरायललाई पूर्ण समर्थन गर्नुपर्ने धारणा राख्दै आउनुभएको थियो।
विशेष गरी, गत फेब्रुअरी २८ मा इरानमाथि भएको सैन्य हमलापछि उहाँले तेहरानको शासनसत्ता अन्त्य गर्न खुला आह्वान गर्नुभएको थियो। फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले भन्नुभएको थियो, “इरानी शासनको अन्त्यले मध्यपूर्वको शक्ति सन्तुलन मात्र बदल्ने छैन, यसले नयाँ आर्थिक अवसरसमेत सिर्जना गर्नेछ।”
द वाल स्ट्रिट जर्नलका अनुसार ग्राहमले इजरायली गुप्तचर निकाय ‘मोसाद’ र प्रधानमन्त्री नेतान्याहुसँग समन्वय गरी इरानविरुद्ध संयुक्त सैन्य रणनीति तयार पार्न महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको थियो। नेतान्याहुले उपलब्ध गराएका कतिपय संवेदनशील खुफिया सूचनाहरूलाई ग्राहमले नै राष्ट्रपति ट्रम्पसमक्ष पुर्याई इरानविरुद्ध कठोर कदम चाल्न प्रेरित गर्ने गरेको दाबी रिपोर्टमा गरिएको छ।