परराष्ट्रमन्त्री खनाल आफैँ विभाग पुगेर नयाँ प्रणालीमार्फत छापिएका राहदानी दुई बालकलाई दिएर सुरुवात गर्नुभयो सेवा

काठमाडौं, असार २९ । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठुलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ प्रणालीमार्फत राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सुरु गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनाल आफैँ राहदानी विभागमा पुगेर नयाँ प्रणालीबाट छपाई सुरु भएको राहदानी दुई बालकलाई वितरण गरेर औपचारिक सुरुवात गर्नुभएको हो ।

आज विभाग पुगेर खनालले सम्पूर्ण गतिविधिको निरीक्षण गर्नुभएको र सबै प्रणाली ठिकठाक भएको निष्कर्षसहित उनले औपचारिक सुरुवात गरेको विभागले जानकारी दिएको छ । ‘नयाँ प्रणालीबाट रुजु सुरु गर्नेदेखि सम्पूर्ण कार्यको मन्त्रीज्युले निरीक्षण गर्नुभयो, प्रणालीले काम गरेको छ कि छैन भनेर मिहीन ढंगले हेर्नुभयो । सुरुदेखि जारी हुनेसम्मको अवस्थालाई उहाँ स्वयं उपस्थित भएर निरीक्षण गर्नुभयो,’ विभागका एक कर्मचारीले भने,’ ‘नयाँ प्रणालीबाट सुरु भएको राहादानी के–कसरी काम भैरहेको छ भनेर सबै निरीक्षण गरिसकेपछि दुई बालकलाई राहदानी वितरण गरेर औपचारिक सुरुवात गर्नुभएको हो ।’
मन्त्री खनालले यस अघि पनि पटक–पटक विभागमै पुगेर नयाँ प्रणालीको निरीषण गरेका थिए । सुरुदेखि नै नयाँ प्रणालीबाट राहदानी छाप्ने प्रक्रियाको काम र प्रक्रियाबाट सन्तुष्ट खनालले आज पनि आफ्नै उपस्थितिमा राहदानी वितरण गरेर सुरुवात गर्नुभएको हो ।

करिव एक करोड नेपाली नागरिकको वैयक्तिक विवरण (डिजिटल डेटा) नयाँ प्रणालीमा स्थानान्तरण गर्नेलगायतका सबै प्रक्रिया तयारी अवस्थामा पुगेपछि अब अवरोध नहुने गरी काम अघि बढेको पनि राहदानी विभागले जानकारी दिएको छ । राहदानी आपूर्तिका लागि खरिद प्रक्रियामा प्याकेज १ अन्तर्गत म्युल्बाउअर आइडी सर्भिसेसले पासपोर्टको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमनेट सिस्टमको ठेक्का पाएको छ ।

प्याकेज २ मा भेरीडोसले पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमको ठेक्का पाएको हो । यी कम्पनीले ३४ तथा ६४ पृष्ठ दुबै राहदानीको मुल्य करिब अमेरिकी डलर ८.६२ मा त्यो पनि उच्च गुणस्तर एवं अन्तराष्ट्रिय मापदण्ड अनुसारको राहदानी खरिद गर्ने गरी सम्झौता गरेका थिए ।

तर, लामो समयदेखि एकलौटी गर्दै आएको आइडिमियाले लगातार ठेक्का हत्याउन नपाएपछिको शक्तिसमूहको प्रयोगमा शक्तिकेन्द्रलाई प्रभावमा पारे एकपछि अर्को लफडा गर्न थालेपछि समयमा राहादानी आपूर्तिमा कठिनाई भई हाहाकार हुने अवस्था आउने हो कि भन्ने आशंका पैदा भएको थियो ।

तर, अब ती सबै समस्या समाधान गर्दै ठेक्का पाएका जर्मन कम्पनीले इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विदेशी नियोगका सफ्टवेयर अपडेटदेखि डाटा इन्ट्रीलगायतको काम सम्पन्न गरेर आज बाट नयाँ राहदानी उपलब्ध गराएका छन् ।

लामो समयदेखि बायोमेट्रिक राहदानी खरिद ठेक्काको जिम्मा लिएको आइडिमियाले प्रति राहदानी ३४ पृष्ठको अमेरिकी डलर १०.४५ पछि भेरियसन आदेशबाट अमेरिकी डलर १०.१३ मा आपूर्ति गर्दै आएको थियो । ६४ पृष्ठको राहदानी खरिद गर्दा अमेरिकी डलर १०.९५ थियो । तर, सबै प्रक्रिया पुर्याएर सन् २०२५ जुन ६ मा राहदानी विभागले जर्मनीका दुई कम्पनी भेरिडोस जीएमबीएच र म्युहलबाउरलाई ई–पासपोर्टको ठेक्का दिएको थियो ।

यी कम्पनीले ३४ तथा ६४ पृष्ठ दुबै राहदानीको मुल्य करिब अमेरिकी डलर ८.६२ मा त्यो पनि उच्च गुणस्तर एवं अन्तराष्ट्रिय मापदण्ड अनुसारको राहदानी खरिद गर्ने गरी सम्झौता गरेका थिए । अब नयाँ प्रक्रियाबाट राहदानी छाप्न थालेपछि राज्यको समेत करौडौँ रकम बचत हुने बुझिएको छ ।