वाग्मती नदीको कटानले टौदह क्षेत्र जोखिममा, सीमाङ्कन नहुँदा तटबन्ध निर्माणको बजेट फिर्ता
काठमाडौँ, ३१ असार । काठमाडौँ उपत्यकाको प्रसिद्ध पर्यटकीय गन्तव्य टौदह र यस आसपासका बस्तीहरू वाग्मती नदीको तीव्र कटानका कारण जोखिममा परेका छन्। वाग्मतीले विगत दुई वर्षदेखि आफ्नो प्राकृतिक बहाव (धार) परिवर्तन गरी पश्चिमतर्फ कटान गर्न थालेपछि कीर्तिपुर नगरपालिका–६ स्थित टौदहको अस्तित्व संकटमा परेको हो।
स्थानीयवासी मिलन खड्काका अनुसार नदीको तीव्र कटानका कारण टौदहको पूर्वतर्फका कान्लाहरूबाट पानी चुहिन थालेको छ। “समयमै कटान नियन्त्रणका लागि ठोस कदम नचालिए टौदहको अस्तित्व नै संकटमा पर्ने निश्चित छ,” खड्काले भने। वाग्मतीको पारिपट्टि पर्ने ललितपुर महानगरपालिका क्षेत्रले नदी किनारमा पक्की पर्खाल लगाएपछि पानीको बहाव पश्चिमतर्फ मोडिएर कीर्तिपुर किनारमा कटान तीव्र भएको स्थानीयको भनाइ छ।
यसैगरी, पश्चिमतर्फ कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले पनि निरन्तर कटान गरिरहेको छ। खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाएर आफ्नो क्षेत्र सुरक्षित गरे पनि कीर्तिपुर नगरपालिकाका तर्फबाट कटान नियन्त्रणका लागि कुनै पहल नभएको स्थानीय अन्जिल खड्काले गुनासो गरे। दुई स्थानीय तहबीच समन्वय नहुँदा कटान नियन्त्रणको कार्य सुस्त बनेको छ।
विभिन्न सरोकारवाला निकायहरूले टौदह र आसपासका बस्ती जोगाउन तटबन्ध तथा टेवा पर्खाल निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्ने गरेका छन्। तर, नदीको वास्तविक रेखाङ्कन र सीमाङ्कन स्पष्ट नहुँदा विनियोजित बजेट काम नै नभई फिर्ता जाने गरेको छ।
“हामीले पटक–पटक अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई सीमाङ्कन गरिदिन आग्रह गर्यौँ, तर अहिलेसम्म भएन,” मिलन खड्काले भने। वास्तविक सिमाना यकिन नहुँदा कानुनी झमेला आउने डरले निर्माण व्यवसायीहरूले समेत काम सुरु गर्न नमान्ने र बजेट फ्रिज हुने गरेको स्थानीयको गुनासो छ।