‘संग्रहालयमा होइन, आफ्नै आसनमा जीवन्त हुन्छन् कलाकृति आकृति’ : तलेजु भवानीका गहना फर्काउन कार्यवाहक प्रमुख डंगोलको कूटनीतिक सक्रियता
काठमाडौँ, असार ३१ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपालको मौलिक सम्पदा र आस्थाको पुनरागमनका लागि कूटनीतिक सक्रियता बढाउनुभएको छ । असार ३१ गते बिहीबार आफ्नै कार्यकक्षमा नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बमसँग भएको शिष्टाचार भेटका क्रममा उहाँले दशकौँ अघि चोरी भएर अमेरिका पुर्याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारसँग विशेष सहयोगको अपेक्षा राख्नुभएको छ ।
आस्थाको पुनरागमन : संग्रहालयदेखि मन्दिरको आसनसम्म
वसन्तपुरस्थित ऐतिहासिक तलेजु भवानीको मूर्तिबाट चोरी भएका पुरातात्विक गहनाहरू हाल अमेरिकाका विभिन्न संग्रहालयमा रहेको पाइएको छ । ती गहनाहरू केवल बहुमूल्य वस्तु मात्र नभएर काठमाडौँको जीवन्त सभ्यता र स्थानीयको अटुट आस्थाको प्रतीक भएको कार्यवाहक प्रमुख डंगोलले उल्लेख गर्नुभयो ।
भेटका क्रममा उहाँले भन्नुभयो, “काठमाडौँका प्राचीन मूर्ति र गहनाहरू केवल कलाकृति मात्र होइनन्, यी त हाम्रा पूर्वजको नासो र स्थानीय बासीको आस्थाका केन्द्र हुन् । यस्ता सम्पदाहरू संग्रहालयको सोकेसमा होइन, आफ्नै मौलिक आसन र मन्दिरमा मात्र जीवन्त हुन्छन् ।’ उहाँले कानुनी, प्रशासनिक र कूटनीतिक प्रक्रिया पूरा गरेर आफ्ना सम्पदा स्वदेश फर्काउने महानगरको अभियानमा अमेरिकी सरकारबाट बलियो साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
सामुदायिक शक्ति र गुठी प्रणालीको महत्व
मूर्त सम्पदासँगै काठमाडौँको मौलिक गायन, वादन, नृत्य र संस्कार जस्ता ‘अमूर्त सम्पदा’ जोगाउन महानगरले गरिरहेको प्रयासबारे पनि डंगोलले चर्चा गर्नुभयो । उहाँले काठमाडौँको सामाजिक सद्भावलाई गुठी प्रणालीले पुस्तौँदेखि जोडेर राखेको बताउँदै भन्नुभयो, ‘हामीले यहाँका गुठी, खलः र पुचः हरूलाई आर्थिक र प्राविधिक सहयोग गरेर हाम्रा मौलिक परम्परालाई दिगो बनाउने प्रयास गरेका छौँ ।’
सुशासन र जनअपेक्षा
कुराकानीका क्रममा कार्यवाहक राजदूत उर्बमले स्थानीय शासनमा प्रमुख र उपप्रमुखको कानुनी दायित्व, अन्तरसरकार समन्वय, विश्वास र स्थानीय अभ्यासका बारेमा चासो राख्नुभएको थियो । जवाफमा कार्यवाहक प्रमुख डंगोलले महानगरपालिका विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नागरिकका अपेक्षा र आवश्यकतालाई नै महानगरको योजनाको प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।
काठमाडौँदेखि हलिउडसम्मको सपना
काठमाडौँलाई कला र संस्कृतिको विश्वव्यापी केन्द्र बनाउने उद्देश्यका साथ महानगरले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने योजना अघि सारेको छ । यस अभियानमा हलिउडका कलाकार, प्राविधिक र सिर्जनाकारहरूसँग सहकार्य गर्न महानगर इच्छुक रहेको प्रस्ताव डंगोलले राख्नुभयो ।
कार्यवाहक प्रमुखको यो सिर्जनात्मक प्रस्तावमा कार्यवाहक राजदूत उर्बमले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । उहाँले यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन मद्दत गर्ने बताउँदै आपसी सहयोगका लागि आफूहरू तयार रहेको बताउनुभयो ।
भेटघाटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ , अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हर्कर, राजनीति तथा आर्थिक मामिला प्रमुख केट लेही लगायत दुवै पक्षका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । यो भेटवार्ताले नेपालको हराएको सम्पदा फिर्ता ल्याउने र काठमाडौँलाई विश्व मानचित्रमा सांस्कृतिक नगरका रूपमा थप स्थापित गर्ने दिशामा महत्वपूर्ण इँटा थप्ने विश्वास गरिएको छ ।