काठमाडौँ इन्टरनेशनल फिल्म फेस्टिभलमार्फत ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ प्रवर्धन गर्ने कार्यवाहक प्रमुख डंगोलको लक्ष्य : अष्ट्रेलियाली राजदूतसँग सहकार्य बारे छलफल
काठमाडौँ, ३१ असार । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट बिच बिहीबार महानगरपालिकामा शिष्टाचार भेटवार्ता भएको छ । कार्यवाहक प्रमुखको कार्यकक्षमा भएको उक्त भेटमा आगामी आर्थिक वर्ष २०८३/०८४ मा महानगरले आयोजना गर्न लागेको ‘काठमाडौँ इन्टरनेशनल फिल्म फेस्टिभल’ र दुई पक्षीय आपसी सहकार्यका विषयमा गहन छलफल भएको छ ।
रचनात्मक उद्योग र पर्यटनको एकीकृत प्याकेज
भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने अन्तर्राष्ट्रिय फिल्म महोत्सव केवल चलचित्रको प्रदर्शनमा मात्र सीमित नभई यो ‘रचनात्मक उद्योग’ र ‘पर्यटन’ विकासको एउटा एकीकृत प्याकेज हुने बताउनुभयो । ‘महानगरपालिकाको प्रत्यक्ष काम चलचित्र निर्माण त होइन, तर रचनात्मक उद्योगको विकासमार्फत समुदायलाई जोड्न हामीले यो महोत्सवको परिकल्पना गरेका हौँ ।’
अष्ट्रेलियाली प्राविधिक र विज्ञसँग सहकार्यको अपेक्षा
महानगरले आयोजना गर्ने महोत्सवमा अष्ट्रेलियाका प्रख्यात कलाकार, चलचित्र निर्माता, निर्देशक र प्राविधिकहरूको सहभागिताका लागि कार्यवाहक प्रमुखले राजदूत अर्न्स्टसँग प्रस्ताव राख्नुभयो । विशेषगरी नेपाली चलचित्रकर्मीहरूको क्षमता विकास, शैक्षिक प्रतिष्ठानहरूमा चलचित्र शिक्षाको प्रवर्द्धन, अध्ययन-अनुसन्धान र चलचित्रका माध्यमबाट स्थानीयको जीवनस्तर सुधार गर्ने कार्यमा अष्ट्रेलियाको अनुभव र सहयोग फलदायी हुने उहाँको विश्वास थियो ।
हालै सम्पन्न ‘टोल टोलमा फिल्म महोत्सव’ को सफलताको चर्चा गर्दै डंगोलले भन्नुभयो, ‘चलचित्रले मानिसहरूलाई घरभित्रबाट सार्वजनिक स्थलमा ल्याउन र सामाजिक सद्भाव बढाउन ठूलो भूमिका खेल्छ । बालबालिका र महिलाहरूको उत्साहजनक सहभागिताले हामीलाई अन्तर्राष्ट्रियस्तरको महोत्सव गर्न थप ऊर्जा दिएको छ ।’
राजदूतको सकारात्मक प्रतिक्रिया
भेटका क्रममा राजदूत साइमन अर्न्स्टले नेपाल र अष्ट्रेलियाबिचको जनस्तरको सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष करिब ५० हजार अष्ट्रेलियाली नागरिकले नेपाल भ्रमण गरेका छन् भने हजारौँको सङ्ख्यामा नेपालीहरू अष्ट्रेलियाका विभिन्न सहरमा बसोबास गर्छन् । यस पृष्ठभूमिमा काठमाडौँले आयोजना गर्ने सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरूमा अष्ट्रेलिया जोडिन पाउनु खुसीको कुरा हो ।’ उहाँले महानगरको प्रस्तावप्रति आफूहरू सकारात्मक रहेको र आवश्यक सहकार्यका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्य द्विपक्षीय विषयमा छलफल
छलफलका क्रममा दुई देशका सहरहरूबिच भगिनी सम्बन्ध स्थापना गर्ने, डायस्पोरामार्फत सांस्कृतिक आदानप्रदान गर्ने र सहरी विकास तथा व्यवस्थापनमा एक-अर्काको अनुभवबाट सिक्ने विषयमा समेत कुराकानी भएको थियो ।
भेटवार्तामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरू र प्रमुखको सचिवालयका सदस्यहरूको उपस्थिति रहेको थियो । यो भेटले काठमाडौँको कला र पर्यटनलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।