अन्तिम दिन नेप्से ७.५० अङ्कले बढ्यो, कारोबार ४ अर्ब ५६ करोड नाघ्यो

काठमाडौँ, ३२ असार । चालू आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सुधार देखिएको छ। साताको सुरुवाती दिनहरूमा केही अस्थिर देखिएको बजारले आर्थिक वर्षको समापनका दिन सकारात्मक लय समात्दै लगानीकर्ताहरूलाई उत्साहित बनाएको छ।

बिहीबार नेप्से परिसूचक ७.५० अंक बढेर २५९७.८० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.९२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३७१ स्टकको ३९ हजार ५९५ पटकको कारोबारमा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँबराबरको ९४ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे १४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन २३ करोड रुपैयाँबराबरको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *