चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत विवादमा , नेपाल शिक्षक महासङ्घको आपत्ति
काठमाडौँ, १ साउन । अभिनेत्री प्रियंका कार्कीद्वारा निर्मित चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीतप्रति नेपाल शिक्षक महासङ्घले गम्भीर आपत्ति जनाएको छ। महासङ्घले उक्त गीतमा प्रयोग गरिएका शब्द र भावले शिक्षक तथा समग्र शिक्षण पेसाकै अपमान गरेको भन्दै यसको प्रसारण तत्काल रोक्न माग गरेको छ।
महासङ्घको राष्ट्रिय समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘मास्टर्नी’ को सार्वजनिक गीतप्रति कडा विरोध प्रकट गरेको हो। हालै सार्वजनिक गरिएको सो गीतले विशेषगरी महिला शिक्षकहरूलाई लक्षित गरी अमर्यादित र अपमानजनक शब्द एवं भाव प्रस्तुत गरेको ठहर महासङ्घको छ। “सो गीतले शिक्षक र शिक्षण पेसाको स्थापित गरिमामाथि गम्भीर प्रहार गरेको छ,” विज्ञप्तिमा भनिएको छ।
महासङ्घले सम्बन्धित निर्माण पक्षलाई उक्त गीतको प्रसारण तुरुन्त बन्द गर्न र चलचित्रमा समेत समावेश नगर्न आग्रह गरेको छ। यदि उक्त गीतको प्रसारणलाई निरन्तरता दिइएमा र त्यसबाट कुनै असहज परिस्थिति वा परिणाम उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने चेतावनीसमेत महासङ्घले दिएको छ।
सानोठिमी, भक्तपुरस्थित महासङ्घको कार्यालयबाट जारी गरिएको उक्त विज्ञप्तिमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेका छन्। शिक्षण पेसाको मर्यादा, सामाजिक सम्मान र व्यावसायिक प्रतिष्ठामा आँच पुग्ने कुनै पनि गतिविधि आफूहरूलाई स्वीकार्य नहुने अडान महासङ्घले दोहोर्याएको छ।