लोकदोहोरीको ‘उत्कृष्ट पाँच मनोनयन’ : कसको पोल्टामा पर्ला ‘गरिमा’ अवार्ड

काठमाडौँ, साउन ३ । नेपाली माटोको सुगन्ध, गाउँबेँसीका भाका र जनजीवनका भोगाइहरूलाई समेट्ने लोकदोहोरी क्षेत्रमा यतिबेला बेग्लै रन्को छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा हुन लागेको ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड, २०८३’ ले कलाकार र श्रोतामाझ एउटा ढ्याङ्ग्रो ठटाएको छ । भदौ ६ गते काठमाडौँमा हुने भव्य समारोहमा कसले अवार्ड उचाल्ला भन्ने कौतूहलता यतिबेला उत्कर्षमा पुगेको छ ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापामगर र उपत्यका समितिका अध्यक्ष प्रसाद लामिछानेको सक्रियतामा शुक्रबार २४ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै लोकदोहोरीको मैदान ‘तात्तिएको’ हो । पूर्वकेन्द्रीय अध्यक्ष दुर्गा रायमाझी नेतृत्वको छनोट समितिले देशभरबाट परेका सयौँ आवेदनहरूबाट उत्कृष्ट १२० कलाकारलाई प्रतिस्पर्धाको अन्तिम दौडमा सामेल गरेको छ ।

दिग्गजहरूबीचको कडा टक्कर

यसपटकको ‘सर्वाेत्कृष्ट लोकदोहोरी गायक’ विधामा कडा प्रतिस्पर्धा देखिन्छ । ‘तल्लो बाटो’ बाट खेम सेन्चुरी, ‘युके बस्ने दाई’ बाट सागर आले, ‘छैन र माया’ बाट प्रकाश दुतराज, ‘झलीको’ बाट अर्जुन सापकोटा र ‘काँचो सुपारी’ बाट कुशल बेल्वासेबीच भिडन्त हुनेछ । यी सबै नामहरू लोकदोहोरी क्षेत्रका ‘हिट मेसिन’ हुन्, जसका कारण निर्णायकलाई उत्कृष्ट छान्न हम्मे-हम्मे पर्ने निश्चित छ ।

त्यस्तै, गायिकातर्फको प्रतिस्पर्धा झन् रोचक छ । चर्चाको शिखरमा रहेकी शान्ति श्री परियारदेखि शान्ता रानी परियार, दिपिका ब्यम्बो मगर, कालिका रोका र निशा गुरुङसम्मले ‘उत्कृष्ट पाँच’ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

नयाँ पुस्ताको उदय

लोकदोहोरीको भविष्य मानिने ‘नवगायक/गायिका’ विधामा पनि यसपटक उस्तै उत्साह छ । भाइरल स्वरकी धनी सिम्रन परियारदेखि किरण विसी र शीतल गुरुङसम्मले उत्कृष्ट पाँचमा परेर आफ्नो साङ्गीतिक भविष्यको बलियो सङ्केत दिएका छन्। यसले के देखाउँछ भने लोकदोहोरीमा पुरानाको अनुभव र नयाँको ऊर्जाबीच सुन्दर सङ्गम भइरहेको छ ।

पर्दा पछाडिका सारथिहरू

गीत केवल स्वर मात्र होइन, यो शब्द र लयको सन्तुलन पनि हो। नेत्र अर्याल, सन्तोष सापकोटा र विक्रमबाबु विश्वकर्मा जस्ता हस्तीहरू उत्कृष्ट शब्द विधामा मनोनित भएका छन् भने लय विधामा अर्जुन सापकोटा, गोविन्द पङ्गेनी र एचबिएन किस्मतको नाम अगाडि छ । यति मात्र होइन, म्युजिक भिडियोमा जादु देखाउने मोडलहरू लोमश शर्मा, बबिनसिंह ठकुरी र विजय पुनहरूको उपस्थितिुले अवार्डलाई थप ग्ल्यामरस बनाएको छ ।

भोटिङ र निर्णयको पर्खाइ

समन्वय समितिका उपाध्यक्ष राजेश ढकालका अनुसार अबको यात्रा ‘भोटिङ’ र ‘निर्णायक’ को हातमा छ। श्रोता र दर्शकले आफ्ना प्रिय कलाकारलाई भोट दिएर जिताउने अवसर पाउनेछन् ।

२०८० देखि २०८२ सम्म सिर्जना भएका उत्कृष्ट सृजनाहरूमध्येबाट सर्वोत्कृष्ट छनोट हुने यो प्रक्रियाले लोकदोहोरी क्षेत्रमा एउटा नयाँ मानक स्थापना गर्ने अपेक्षा गरिएको छ। २४ वटा विधा, १२० कलाकार र एउटै लक्ष्य, ‘गरिमा अवार्ड’। अब सबैको नजर भदौ ६ गतेको त्यो विशेष साँझमा अडिएको छ, जहाँ लोकदोहोरीका नयाँ र पुराना नक्षत्रहरू एउटै मञ्चमा चम्किनेछन् ।