थारु खानाको संरक्षण र प्रवर्धनका लागि दाङमा ४० महिलालाई विशेष प्रशिक्षण

काठमाडौँ, साउन ४ । थारु समुदायको परम्परागत खानपानको जगेर्ना र व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले दाङमा ४० जना महिलालाई ‘स्थानीय परिकार प्रशिक्षण’ प्रदान गरिएको छ । पर्यटन डिभिजन कार्यालय, बाँकेको आयोजना तथा थारु सांस्कृतिक संरक्षण केन्द्र, दाङको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिममा थारु समुदायभित्रका विभिन्न क्षेत्रगत विविधतालाई समेट्दै दाङको ‘दगौरा’, देउखुरीको ‘देउखुरीया’, बाँके र बर्दियाको ‘देसौरी’ तथा कैलाली र कञ्चनपुरको ‘राणा’ र ‘कठरिया’ शैलीका खाना बनाउने सीप सिकाइएको छ ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तालिमको महत्त्वबारे प्रकाश पार्दै थारु परिकारको बजारीकरणमा प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले थारु समुदायको खानाका रूपमा ढिक्री, घुँगी र जाँडको झोल मात्रै चिनिएको छ, तर हाम्रा थुप्रै स्वास्थ्यवर्धक र स्वादिष्ट परिकारहरू लोप हुने अवस्थामा छन् । तिनको पुनरुत्थान आवश्यक छ ।”

प्रशिक्षणका क्रममा सहभागीहरूलाई कञ्जुवा, अनदी, सिम्ठारो, मकै र मसुराको भात, घोङी, गङ्गटा, लोकल कुखुराको मासु, गुइता माछा, सिद्रा, बङ्गुरको मासु, बयरको अचार, जारको झोल, ढिक्री र पतौरी लगायत ४० भन्दा बढी स्थानीय परिकारहरू बनाउन सिकाइने छ ।

जिल्ला र क्षेत्र अनुसारका फरक–फरक स्वाद र परिकारलाई व्यावसायिक रूपमा बजारमा लैजान सके यसले महिलाहरूको आयआर्जनको दिगो स्रोत बन्न सक्ने विश्वास पूर्वमुख्यमन्त्री चौधरीले व्यक्त गर्नुभयो । थारु संस्कृतिको अभिन्न हिस्सा रहेका यी खानाहरूको संरक्षणले पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।