लगातारको वृद्धिपछि नेप्से परिसूचकमा गिरावट, कारोबार रकम साढे ५ अर्बमा सीमित
काठमाडौँ, ६ साउन । विगत छ कारोबार दिनदेखि लगातार बढिरहेको सेयर बजारमा बुधबार सामान्य गिरावट (करेक्सन) आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १३.९५ अङ्कले घटेर २,७१२.५४ विन्दुमा ओर्लिएको छ।
पछिल्ला छ कारोबार दिनमा नेप्से परिसूचक कुल १५६.३ अङ्कले बढेको थियो। बजार बढेको मौका पारेर अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित (प्रफिट बुकिङ) गर्न थालेपछि बजारमा सामान्य गिरावट आएको हो। आज सेन्सेटिभ इण्डेक्स २.१० अङ्क, फ्लोट इण्डेक्स ०.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अङ्कले घटेको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार रु ६ अर्ब ६७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३४६ कम्पनीको ५६ हजार ९४ पटकको कारोबारमा रु ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार बराबरको १ करोड १३ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा पुनः सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु ६४.२० ले बढेर प्रतिकित्ता रु ४९२.४० मा अन्तिम कारोबार भएको छ। यस्तै, बुंगल हाइड्रोको सेयर मूल्य साढे १० प्रतिशत र सालपा विकास बैंकको सेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ। यता, ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य भने सर्वाधिक ७.१६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज पनि रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ४२ करोड ३० लाख बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रु २८ करोडभन्दा बढी र रिलायन्स स्पिनिङ्ग मिल्सको रु २६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये केवल दुई उपसमूह (वित्त र उत्पादन तथा प्रशोधन) को परिसूचक सामान्य बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशतले घट्दा निर्जीवन बीमा उपसमूहको परिसूचक १.२६ प्रतिशतले ओरालो लागेको छ।