भरतपुर मालपोतमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण : दाताको सहयोगमा खानेपानी र शौचालयको व्यवस्था
काठमाडौँ, साउन ७ । चितवनको भरतपुरस्थित भूमि प्रशासन (मालपोत) कार्यालय परिसरमा ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माण सम्पन्न भएको छ । आगलागीबाट नष्ट भएका सेवाग्राही लक्षित खानेपानी तथा शौचालय जस्ता अत्यावश्यक पूर्वाधारहरू पुनः सञ्चालनमा ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष पहल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का निवर्तमान अध्यक्ष आरके शर्माको आर्थिक एवं प्राविधिक सहयोगमा यी संरचनाहरूको पुनर्निर्माण गरिएको हो । कार्यालयमा आउने सेवाग्राहीलाई खानेपानी र शौचालयको असुविधा भएपछि प्रमुख जिल्ला अधिकारीले सहयोगका लागि आह्वान गर्नुभएको थियो ।
कार्यालय प्रमुख निरबहादुर दाहालले पुनर्निर्मित संरचनाले सेवाग्राहीलाई थप सहज हुने बताउनुभयो । उहाँका अनुसार, सरकारी कार्यालयमा आउने आम सर्वसाधारणको न्यूनतम आवश्यकतालाई मध्यनजर गर्दै यी पूर्वाधारहरू तयार पारिएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले ‘जेनजी’ आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै दाताहरूको सहयोग परिचालन गरी पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाइएको जानकारी दिनुभयो । सहयोगी आरके शर्माले सेवाग्राहीको मर्कालाई बुझेर सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले संरचना निर्माणमा सहयोग गरेको बताउनुभयो ।
गत समयमा भएको प्रदर्शनका क्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो । हाल सो क्रममा क्षति भएका अन्य संरचनाहरूको समेत क्रमिक रूपमा पुनर्निर्माण भइरहेको जनाइएको छ ।